आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर”अभियान

पुस २२ गते । सुनसरीको इनरुवामा आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको छ ।

सनातत कूटुम्भ नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा नगरक्षेत्रका पाँच हजार बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश गरेर विधार्थी बालबालिकाहरु तथा किसोरकिसोरीहरु जोखिममा रहेको भन्दै आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियानको सार्थक शन्देश प्रवाह गरेको आयोजक सनातन कुटुम्ब नेपालका अशोक चितलांगियाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रशिक्षक एवम् जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले व्यक्तिमा आत्मघाती विचारद्वारा निर्देशित लहडले व्यक्तिलाई आत्म–अवहेलनाबाट मृत्युमा पु¥याउने कुकर्मोन्मुख बनाउँने भएकाले त्यसबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने प्रयास गर्नुपर्ने बताउनुभयो ।

व्यक्तिले स्वबाध्यता महसुस गरी जानी–जानी मर्ने मनस्थितिबाट आफ्नो ज्यान आफै लिने यो विश्वव्यापी समस्या भएकाले यसको रोकथाममा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

उहाँले मानसिक रूपमा विक्षिप्त (डिप्रेशन)हुनु, पारिवारीक रूपमा एकल हुनु, कहिले कडा रोग लाग्नु र म बाँचेर यो संसारमा के काम छ र ? भन्ने हीन भावना हुनुले पनि मानिस आत्महत्या रोज्ने भएकाले मर्नु भन्दा बौलाउनु ठीक सन्देश बुढापाकाको रहेकाले त्यसमा पनि ध्यान दिएर आत्महत्या रोक्न तर्फ लाग्नुपर्ने बताउनुभयो ।

जीवन जिउने कला नहुने, लागू पदार्थको अत्यधिक सेवन गर्ने, निराशाका भावनाहरूमा पौडिनु, आवेगपूर्ण वा आक्रामक स्वभावमा परिवर्तन नल्याउनु, सामाजिक रूपमा आफू बहिष्कृत भएको महसुस गर्नु, आत्मघाती विचारहरूले जित्नु, मानसिक विकारले दिमागलाई नियन्त्रण गर्नु पनि आत्महत्या गर्नेका कारणहरूमा पर्ने भएकाले यसको रोकथाममा सबैको ध्यान जान जरुरी रहेको ढकालले बताउनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र उपप्रमुख विनिता कुमारी मेहता सहितकाले कार्यक्रमको औचित्यका बारेमा बोल्नुभएको थियो ।

प्रदेश सभा सदस्य रामप्रसाद मेहताले आत्महत्या सामाजिक लाञ्छना, सामाजिक सञ्जाल, धार्मीक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोवृत्ति समेतका कारणले हुने भएकाले सबै क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मनोविज्ञानले धनी, गरिब, शिक्षित, अशिक्षित, केटा, केटी, बेरोजगार, शहरीया, वृद्ध, शहरका धनी र सम्पन्न परिवारमा पनि आत्महत्या समस्याका रुपमा रहेकाले रोकथाममा सबैले योगदान गर्नुपर्ने बताउनुभयो ।

यादवले विक्षिप्तताका रोगीहरू, लागू पदार्थ सेवन गर्नेहरू र तनावमा बाँचेकाहरू आत्महत्या रोज्ने गरेको विभिन्न तथ्यहरुले देखाएकाले यसको रोकथाम र न्यूनिकरणका लागि सचेतना र मनोविर्श परामर्श आवश्यक रहेको बताउनुभयो ।

अधिवक्ता पञ्चदेव मेहताले नकारात्मक जीवन घटनाहरूलाई सकारात्मक बनाएर, निराशालाई आशामा रूपान्तरण गरेर, पारिवारीक तनावलाई न्यूनिकरणका उपाय अपनाएर, उदासीन भावनालाई सकारात्मक र रचनात्मक भावनामा पु¥याएर आत्महत्या रोकथाम गर्नुपर्ने बताउनुभयो ।

मेहताले आत्म–अवमूल्यन नगरी आत्मसम्मानको भावना जागृत गराएर यसलाई न्यूनिकरण गर्न सकिने तर्क गर्नुभयो । यो व्यक्तिगत कुण्ठामा र मनमष्तिस्कमा सुसुप्त, निष्कृय र लुकेर रहेको अपराध भएकाले यसलाई साझा समस्याको रूपमा लिएर सबै व्यक्ति नै सजग हुनुपर्ने बताउनुभयो ।