
कार्तिक २१ गते । सुनसरीको दुहबी नगर अस्पतालमा तथा विराटनगर आँखा अस्पतालको साझेदारी कार्यक्रम अन्तर्गत दुहबी नगर अस्पतालमा आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरिएको छ ।


आज विशेष कार्यक्रमको आयोजना गरी दुहबी नगरपालीकाका नगर प्रमुख तथा नगर आधारभूत अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष वेदनारायण गच्छदार र तथा विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरीले संयुक्त रुपमा उक्त केन्द्रको रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

नगर प्रमुख गच्छादारले आँखा तथा कानको उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्न जोड दिने बताए । दुहबी नगरपालिकाले विराटनगर आँखा अस्पतालको सहकार्यमा आँखा तथा कानको सेवा प्रवाह गर्ने नीति अनुरुप दुहबी नगर अस्पतालमा आज वाट आँखा तथा कान उपचार केन्द्रको स्थापना गरी सेवा प्रारम्भ गरेको छ ।
नगर प्रमुख गच्छादारले सम्बोधन गर्दै दुहबी नगरपालीकामा यस्तो उपचार सेवा स्थापना हुनु उल्लेखनीय र अनुकरणीय कार्य भएको बताउँदै नगरपालिकाले यस केन्द्रको दिगो र नियमित सज्ञालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नगर प्रमुख गच्छादारका अनुसार दुहबी नगरपालिकाले सन् २०७६/७७ देखि नै नगरवासीका लागि मोतियाबिन्दु, जलबिन्दु तथा आँखामा मासु पलाउने रोगको निःशुल्क उपचार गर्दै आएको छ। नगर अस्पताल सञ्चालनमा आएपछि आफ्नै अस्पतालमार्फत थप सेवा विस्तार गर्ने उद्देश्यले आजदेखि नयाँ कार्यक्रम सुरु गरिएको उनले बताए।
स्वास्थ्य क्षेत्रमा ‘देशकै उत्कृष्ठ नगरपालिका’को सम्मान सभामुख देवराज घिमिरेबाट प्राप्त गरेको स्मरण गर्दै गच्छादारले अहिलेसम्म ५ हजारभन्दा बढी नगरवासी लाभान्वित भइसकेको जानकारी दिए।

यस्तो सेवा विस्तारले समग्र दृष्टि स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने नगर प्रमुख गच्छादारले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दुहबी नगर आधारभूत अस्पतालका डा. अमित अग्रहरीले यस्तो सेवा दुहबीमा पनि विस्तार गर्नु विराटनगर आँखा अस्पतालको लागि गर्वको कुरा भएको बताउंदै, नगरसँग सहकार्य अझ सशक्त बनाइने बताए ।

यसैगरी कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्म नारायण चौधरीले उपचार केन्द्रले दिने सेवाहरुका बारेमा विस्तृत कुराहरु राख्नुभएको थियो ।अध्यक्ष चौधरीलेले प्राविधिक र चिकित्सकीय पक्षमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै केन्द्रको सफलताको शुभकामना दिनुभयो ।
उहाँले दुहबी नगर आधारभूत अस्पतालमा सेवा विस्तार गर्न पाउनु हामी सबैका लागि खुसीको विषय हो भन्दै निकट भविष्यमै केन्द्रबाट ठूला शल्यक्रियाहरू पनि सञ्चालन गर्न सकिने लक्ष्यसहित तयारी भइरहेको जानकारी दिनुभयो ।
विराटनगर आँखा अस्पतालका अध्यक्ष चौधरीले विराटनगर आँखा अस्पतालले समुदायमा रहेका आँखाको विरामीलाई पायक पर्ने ठाउँमै गएर आँखा तथा कानको सेवा प्रवाह गर्ने नीति अनुरुप हरेक वर्ष केही आँखा तथा कान उपचार केन्द्रको स्थापना गरी त्यस भेगको वासिन्दाको लागि सेवा दिने गरेको छ । कार्यक्रममा उप–प्रमुख मेनुका खतिवडा, स्वास्थ्य शाखा प्रमुख बिन्देश्वर महतो, अधिकृत उचित साह, अस्पताल प्रमुख अमित अग्रहरी, वडा अध्यक्षहरू र नगर कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
