
कार्तिक १० गते । सुनसरीको विभिन्न नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटहरूको सजावट कार्य गरेर साझँको अस्ताउदो सूर्यलाई अर्घ दिने अन्तिम तयारी भएको छ ।


यस पर्वको अवसरमा हजारौँ श्रद्धालुहरू सूर्य देवतालाई सोमबार साझ अर्घ दिने तयारीमा जुटेका छन् ।
जिल्लाका प्रमुख जलाश्यहरू कोशी ब्यारेज, कोशी कटान, सुकसेना शाखा, सुनसरी खोला, झुम्का नहर, शंकरपुर शाखा नहर र बुढी खोला सहितको स्थानहरूमा अस्थायी छठ घाट निर्माण सम्पन्न भई अर्घको लागि अन्तिम चरणमा पुगेको छ ।

स्थानीयहरूका अनुसार, यहाँका विभिन्न स्थानहरूमा नदी र नहरका किनारमा रंगीन फूल, दीप, कागती र अन्य पारम्परिक सामग्रीहरूको प्रयोग गरेर घाट सजाइएको छ ।
इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, बराहक्षेत्र नगरपालिका, भोकाहा नरसिंह गाउँपालिका, देवानगञ्ज गाउँपालिका, वर्जु गाउँपालिका र गढी गाउँपालिकाका जनप्रतिनिधिहरू छठ पर्वको तयारीमा सक्रिय भएका छन् । यी पालिकाका जनप्रतिनिधिहरूले स्थानीय समुदायसँग मिलेर घाट सजावट र व्यवस्थापनमा सहयोग गरेका छन् ।

विभिन्न स्थानमा अर्घ दिने व्यवस्था गर्नका लागि आवश्यक सामग्री र सुरक्षाका उपायहरू सुनिश्चित गर्ने काम भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले छठ पर्वको अवसरमा विशेष सुरक्षा व्यवस्था पनि लागू गरेको छ । घाट स्थलहरूमा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।
यता छठ पर्वको मुख्य दिन अर्थात् सोमबार साँझ सूर्य अस्ताउँदा श्रद्धालुहरूले पानीमा उभिएर सूर्य देवतालाई अर्घ दिने तयारीमा जुटेका छन् । यस अवसरमा, छठ घाटलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले सजाइएको छ । विशेष गरी, विभिन्न स्थानहरूमा स्थानीय कला र संस्कृतिका प्रतीकहरूको प्रयोग गरेर घाटको आकर्षणमा वृद्धि गरिएको छ ।
यसै गरी दुहबीको बुढी खोलामा पनि अन्तिम तयारी भइसकेको समितिका चन्दन बैठाले जानकारी दिएका छन् । वभिन्न स्थानहरूमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
