
माघ ९ गते । ज्ञान, वुद्धि र विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा हर्सोल्लासका साथ गरि श्रीपञ्चमी मनाईरहेको छ ।


प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व अर्थात विद्याकी अधिष्ठात्री देवी सरस्वतीको सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाईरहेको छ ।

सुक्रबार विहानैदेखी घरघर, शैक्षिक संस्था, विद्यालयहरुमा धुमधामका साथ सरस्वती पूजा मनाइरहेको छ । सरस्वतीको पूजा गरे पठनसिद्धि हुने मान्यता रहँदै आएको छ ।

शिक्षाका जानकारहरुले सरस्वती पूजा गरेकै आधारमा सरर पढ्न आउने नभई सरस्वती पूजाको दिनबाट पढाई लगावप्रति संकल्प गर्नुपर्ने भएकाले पुजाको महत्व रहेको छ । एभरेष्ट स्कुल बिराटनगरका प्रिन्सिपल टिकाराम पुरीले सरस्वती पूजालाई व्यवस्थित र मर्यादित बनाउन विद्यालय पोसाकमै बोलाएको र सबैलाई पढ्ने इच्छा जगाइदेऊ भनेर संकल्प गर्ने दिनको रुपमा लिएको बताउनुभयो ।

पुरीले विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्ने तर पढ्न मन नलगाउने हो भने पूजाकै भरमा पढाई पूरा नहुने भएकाले त्यसको समेत सन्देश प्रवाह गर्न पुजापाठ गरेको बताउनुभयो ।

शिक्षक देवकृष्ण यादवले सरस्वती पूजा शिक्षा, ज्ञान र बुद्धी विकासमा योगदानका लागि संकल्प माग्ने उत्तम साइत भएको बताउनुभयो । उहाँले आजबाट मलाई जाँगरपूर्वक पढ्ने शक्ति देऊ माता’भनेर पूजापाठ गर्ने र सोहि अनुसार पढाइप्रति लगाव लगाउने हो भने सरस्वती माता खुसी हुने बताउनुभयो । उहाँका अनुसार ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो ।
यहाँका प्रत्येक विद्यालयमा सरस्वतीको मुर्ती र केहीले तस्विर समेत राखेर धुमधामका साथ विहानैबाट पुजापाठ गरेका छन् भने केही शैक्षिक संस्थाहरुले सांस्कृतिक र मनोरन्जनात्मक कार्यक्रम समेत आयोजना गरेको छ ।

उता सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । सरस्वती पूजाको दिन अक्षराम्भको उपयुक्त समयको रुपमा लिइन्छ । सरस्वती पूजाको दिनबाट अक्षराम्भ गरेका बालबालिकाका पढाइ जाँगर वृद्धि हुने मान्यता रहीआएको छ ।
वसन्त ऋतु आफैँमा सुरम्य मौसम भएकाले यसको शुभारम्भकै दिन शिक्षा प्राप्तिको सुरुवात गरिने वैदिक परम्परालाई धर्मनिरपेक्ष मुलुकका सबै किसिमका विद्यालयहरू धुमधामसँग मनाइरहेका छन् ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
