
काठमाडौं : नेपाली कांग्रेसले संघीय सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै सुशासन, नागरिकमैत्री सेवा र संघीयताको प्रभावकारी कार्यान्वयनलाई केन्द्रमा राखेर ३३ बुँदे ‘बागमती संकल्प’ सार्वजनिक गरेको छ।


काभ्रेको धुलिखेल मा सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय दुईदिने भेला मंगलबार घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
भेलाले संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्दै उत्तरदायी र जवाफदेही सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, विधि र सुशासनलाई प्राथमिकतामा राख्दै संघीय सरकारबाट भइरहेका ‘अलोकतान्त्रिक र अमर्यादित’ गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
संकल्पपत्रमा कांग्रेस नेतृत्वका प्रदेश तथा स्थानीय सरकारले गरेका असल अभ्यासलाई एक स्थानबाट अर्को स्थानमा विस्तार गर्ने नीति लिइएको उल्लेख छ। स्थानीय सरकारमार्फत नागरिकको घरदैलोमै सेवा पुर्याउने, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा विपन्न नागरिकलाई घरमै सेवा उपलब्ध गराउने योजना पनि अघि सारिएको छ।
भेलाले ‘शून्य बेरुजु स्थानीय तह’ अभियान सञ्चालन गर्ने, योजना बैंकमार्फत मात्रै योजना छनोट गर्ने तथा वित्तीय अनुशासनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। विदेशबाट फर्किएका युवाको सीप, पुँजी र अनुभवलाई स्थानीय विकाससँग जोड्न ‘श्रमदेखि उद्यमसम्म’ र ‘जन्मभूमि समुन्नति विशेष अभियान’ सञ्चालन गरिने उल्लेख गरिएको छ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम, डिजिटल सूचना प्रणाली र गुणस्तरीय शिक्षामा जोड दिइएको छ भने स्वास्थ्य क्षेत्रमा ‘सबैलाई स्वास्थ्य बिमा’ अभियान, डिजिटल हेल्थ प्रोफाइल, मानसिक स्वास्थ्य परामर्श तथा घरदैलो स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारिएको छ।
त्यस्तै, भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान, जोखिम क्षेत्रमा रहेका परिवारको सुरक्षित पुनर्स्थापना तथा ‘सुकुम्वासी समस्या मुक्त स्थानीय तह’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि कांग्रेसले जनाएको छ। हायु, सुरेल, जिरेल, बनकरिया, कुसुन्डा, चेपाङ, थामी, माझी, दनुवार र बोटे समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा विशेष ध्यान दिने उल्लेख गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि आध्यात्मिक पर्यटन पथ, होमस्टे विस्तार तथा साहसिक पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिइएको छ। कृषि क्षेत्रमा किसानलाई सहुलियतपूर्ण ऋण, शीतभण्डार, कृषि एम्बुलेन्स र माटो स्वास्थ्य सुधार कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
भेलाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, जैविक इन्जिनियरिङ तथा स्थानीय तहमा तालिमप्राप्त युवा उद्धारकर्ता तयारी अवस्थामा राख्ने निर्णय पनि गरेको छ।
संकल्पपत्रको अन्तिम बुँदामा पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ अन्तर्गत चलिरहेको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्र बनाउने उल्लेख गरिएको छ।
भेलामा बागमती प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष तथा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारीहरूको सहभागिता रहेको थियो। कांग्रेसले आगामी दिनमा मधेश, कोशी र लुम्बिनी प्रदेशमा पनि यस्तै प्रदेशस्तरीय भेला आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
