
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापा ले नेपाली कांग्रेस मुलुकको मुख्य राजनीतिक शक्ति भएकाले देश र संविधानप्रति सबैभन्दा बढी जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका छन्।


काभ्रेको धुलिखसोमबारदेखि सुरु भएको ‘प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’लाई सम्बोधन गर्दै उनले कांग्रेससँग प्रतिक्रिया दिएर पन्छिने वा अरूले सम्हालिहाल्छन् भनेर ढुक्क हुने सुविधा नरहेको बताएका हुन्।
उनले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले केवल सत्ता राजनीतिमा सीमित नभई संविधान, लोकतन्त्र र मुलुकको स्थायित्व जोगाउने भूमिकामा उभिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
सभापति थापाले कांग्रेसलाई देशको सबैभन्दा जिम्मेवार राजनीतिक शक्ति भन्दै पार्टीका नेता–कार्यकर्ताले पनि त्यही अनुसार सोच र व्यवहार गर्नुपर्नेमा जोड दिए।
‘कांग्रेस देशको मुख्य राजनीतिक शक्ति हो । हामी सबैभन्दा जिम्मेवार शक्ति हौँ,’ उनले भने, ‘त्यसैले हामीले अरू दलजस्तो प्रतिक्रिया दिएर मात्रै भाग्ने छुट पाउँदैनौँ ।’
उनले कांग्रेससँग परिस्थितिबाट उम्किने वा जिम्मेवारीबाट पन्छिने विकल्प नरहेको उल्लेख गर्दै मुलुक जटिल मोडमा पुगेका बेला कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
थापाले देश संविधानको मूल मर्म र ट्र्याकबाट दायाँ–बायाँ जान नहुने भन्दै त्यसलाई सन्तुलनमा राख्ने दायित्व कांग्रेसको काँधमा रहेको बताए।
उनका अनुसार सरकार कहिलेकाहीँ संख्याको बलमा संविधानको सीमाभन्दा बाहिर जाने सम्भावना रहन्छ। त्यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिका रूपमा कांग्रेसले हस्तक्षेप गरेर सरकारलाई संवैधानिक मार्गमै राख्नुपर्ने आवश्यकता हुन्छ।
‘सरकार संख्याको आधारमा कहिलेकाहीँ बरालिन सक्छ,’ उनले भने, ‘संविधानको ट्र्याकभन्दा दायाँ–बायाँ जाँदा त्यसलाई समातेर फेरि सही बाटोमा ल्याउने काम कांग्रेसले गर्नुपर्छ ।’
सभापति थापाले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन कांग्रेसभित्र पनि जिम्मेवार राजनीति आवश्यक रहेको उल्लेख गरे। उनले व्यक्तिगत स्वार्थ, गुटगत सोच र क्षणिक प्रतिक्रियाभन्दा माथि उठेर पार्टी र देशको हितलाई केन्द्रमा राख्न नेता–कार्यकर्तालाई आग्रह गरे।
उनले अहिले मुलुकले राजनीतिक स्थिरता, सुशासन र जनविश्वासको चुनौती सामना गरिरहेको उल्लेख गर्दै यस्ता चुनौती समाधान गर्न कांग्रेसले स्पष्ट दृष्टिकोण र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए।
धुलिखेलमा सुरु भएको उक्त प्रदेशस्तरीय भेलामा बागमती प्रदेशका कांग्रेस नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको छ। कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहको भूमिका, समसामयिक राजनीति तथा आगामी रणनीतिबारे छलफल भइरहेको बताइएको छ।
