(शिव लम्साल)
काठमाडौँ, २१ भदौ । नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो ।
महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता नाचगान नै हो, जसको आफ्नै मौलिक भाका र स्वाद छ । अचेल गीत/सङ्गीत रेकर्डिङ सहज र जो पनि कलाकार बन्न सक्ने सुविधाले हुनसक्छ, तीज आउनु एक महिनाअघिदेखि नै तीज गीत भन्दै बजारमा अनेक भाव भङ्गीमाका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । ती गीतहरू कतिपय शालिन र मर्मस्पर्शी पनि हुने गरेका छन्, कतिपय छाडा ।
विडम्बना, तीजको मौलिक भाका, भाव र मर्मको उपहास गर्दै यस वर्ष पनि केही अश्लिल भाव झल्काउने उच्छृङ्खल खालका गीतहरू बजारमा आए । सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्ममा यसको चर्को आलोचना भयो । तीज गीतमा छाएको विकृतिप्रति चिन्ता व्यक्त भइरहेकै बेला चर्चित गायिका विष्णु माझीले तीजमा माइत जान असमर्थ चेलीको मर्म पोख्दै ‘आइन आमा ओई, यो तीजमा’ बोलको गीत सार्वजनिक गरिन् ।
गायक/सङ्गीतकार सुन्दरमणि अधिकारीको शब्द र सङ्गीत अनि माझीको खिरिलो स्वरले सजिएको यो गीतको भिडियो युटयुबमा भाइरल भयो, जसले यी पङ्क्ति लेख्दासम्म करोड ‘भ्यू’ नाघिसकेको छ । यो गीतलाई धेरैले मन पराए । कारुणिक भावको यस गीतमा चेलीहरू नाचिरहेका छन् । टिकटकमा पनि यही गीतको बोलबाला छ । विगतमा झैं यस गीतले पनि लोकसङ्गीतमा गायिका माझीको बर्चस्वलाई कायमै राखेको छ ।
एउटा अनौठो परिदृश्य केही वर्षदेखि पुनरावृत्ति भइरहेको हामी पाउँछौंँ । हरेक वर्ष तीजमा गायिका माझीको गीत सार्वजनिक हुने गर्छ । गीत भाइरल हुन्छ, स्रोतामाझ गायिकाको ‘क्रेज’ झन् बढ्छ । यो ख्यातिसँगै बजारमा विभिन्न प्रश्नहरूका साथ एउटा मुद्दा चम्किन्छ–गायिका विष्णु माझी किन दर्शक/स्रोतामाझ देखा पर्दिनन् ? उनी किन गुमनाम जीवन बिताइरहेकी छिन् ? कतै कसैले उनलाई बन्धक बनाइरहेको पो हो कि ? आखिर उनी किन आफूलाई लुकाइरहेकी छिन् ?
यसपालि त यो मुद्दा सङ्घीय सांसदमै उठ्यो । गत १८ भदौमा प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गर्नुभयो । सांसद भण्डारीले भन्नुभयो, ‘म देख्छु, विष्णु माझीलाई, उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’
सांसद भण्डारीले राखेको माग खासमा गायिका माझीलाई मन पराउने लाखौं दर्शक÷स्रोताको हो । ‘शीतल दिने पिपल समी छ’ देखि ‘ड्राइभर दाइ मनप¥यो मलाइ’, ‘लालुपाते नुघ्यो भूईतिर’, ‘नजाउ है सानु पँधेरीमा’, ‘सालको पातको टपरी’ हुँदै ‘कहाँ गयो जुरेली’, ‘चरी जेलैमा’ र अहिले ‘आइन आमा यो तीजैमा’सम्म एकभन्दा एक हिट गीत गाएर तहल्का मच्चाउने गायिकाको हाउभाउ र मुहार हेर्न अनि उनले प्रत्यक्ष गाएको सुन्न जो कोही लालायित छन् ।
आश्चर्य, गायिका माझी न त कुनै साङ्गीतिक कार्यक्रम या महोत्सवहरूमा देखा पर्छिन्, न त भिडियोमै उनलाई देख्न सकिन्छ । विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता शून्य छ । स्टुडियोमा गीत रेकर्ड गर्न जाँदा पनि उनी आँखाबाहेक सम्पूर्ण मुहार छोपेरै जान्छिन् । अहिलेसम्म कुनै मिडियामा उनको एउटा पनि अन्तर्वार्ता पढ्न, हेर्न र सुन्न पाइएको छैन । अहो, कुन हदसम्मको गुपचुप जिन्दगी ? आफैँबाट आफैँमाथि छोपिएको यो कस्तो पर्दा ? कहाँसम्म भने अहिले इन्टरनेटमा सर्च गर्दा कालो र रातो मुगा मिश्रित माला पहिरिएको मुहारको उही पुरानो एउटा तस्बिर भेटिन्छ । भिडियोका हकमा पोखरामा धेरै वर्ष पहिले आयोजित दोहोरी कार्यक्रमा माझीले गाउँदै गर्दाको सानो क्लीप फेला पर्छ । यसबाहेक उनका तस्वीर, भिडियो केही भेटिदैनन् ।
स्वरमार्फत दर्शकको कानमा जति पनि गुञ्जने तर प्रत्यक्ष प्रकट भएर दर्शक समक्ष साक्षात्कार नगर्ने । गायिका माझीको यो कस्तो शैली हो ? भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ । उनी ‘मस्ट वान्टेड’ त हुन् तर आपराधिक हिसाबले हैन, लोकप्रियताका हिसाबले । देश–विदेशमा उनको व्यापक माग छ । आखिर उनले लुकी–लुकी हिंडनुपर्ने किन ? भन्ने यक्ष प्रश्न छ । गायिका माझीको गोप्य जीवनबारे बिगतमा पनि अनेक प्रश्नहरू नउठेका हैनन् । चापाकोट, स्याङ्जामा जन्मिएकी माझी नेपालमै सबैभन्दा बढी पारिश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन् । २०६८ मङ्सिर २९ गते पोखराको राम मन्दिरमा गायक तथा सङ्गीतकार सुन्दरमणि अधिकारीसँग गायिका माझीको विवाह भएको थियो । उनी अहिले दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।
यद्यपि, पति सुन्दरमणिले नै गायिका माझीलाई सार्जजनिक हुन नदिएका हुन् भन्ने हल्ला पनि चल्यो । सामाजिक सञ्जालमा गायक तथा सङ्गीतकार सुन्दरमणिमाथि विभिन्न टीकाटिप्पणी पनि हुँदै आएका छन् । यसबारेमा अर्का चर्चित गायक भगवान भण्डारीले केही वर्ष पहिले आफ्नो फेसबुकमा स्पष्ट पारेका थिए, ‘हामी एउटै गाउँंका हौ । गाउँमा रोधी बस्दा गायिका माझी पछाडि बसेर सलले मुख छोपेर गीत गाउँथिन् । खुलेर कसैसँग बोल्दिनथिन्, निकै लाज मान्थिन् । कतै कार्यक्रममा बोलाए पनि जान्थिन् । गाउँमा हुने प्रतियोगिताहरूमा पनि भाग लिएको देख्दिनथें । मेरो विचारमा अहिले उनी जे जसरी छिन्, आफ्नै स्वभाव र इच्छाको कारण हो जस्तो लाग्छ ।’
गायक भण्डारीले यसो भने पनि स्रोता÷दर्शकको शङ्का मेटिएन । गायक तथा सङ्गीतकार सुन्दरमणिले नै कुनै करकाप या परिबन्दमा पारेर गायिका माझीलाई घरभित्रै खुम्च्याएको हुनसक्ने आशङ्कायुक्त लेख र समाचार आए । यसै क्रममा राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र तात्कालीन प्रधानमन्त्री सुशील कोइरालासम्म गायिका माझी सार्वजनिक हुनुपर्ने विषय प्रस्तुत भयो । २०७५ सालमा यो विषय अलि बढी नै चर्कियो । गायिका माझीबारे सर्वत्र जिज्ञासा बढेपछि स्याङ्जाका तात्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले सङ्गीतकार सुन्दरमणिलाई फोन गरे । एसपी लम्सालले गायिका विष्णुलाई जिप्रकामा ल्याउन आग्रह गर्दै ‘नल्याए प्रहरी परिचालन गरेर भए पनि झिकाउने’ सन्देश पनि दिए । त्यसपछि २०७५ पुस २९ मा सुन्दरमणि र गायिका माझी जिप्रकामा हाजिर भएका थिए ।
स्याङ्जा जिप्रकामा गायिका माझी र सुन्दरमणिका साथमा विष्णुका दाइ बाबुराम, आमा धर्मकुमारी तथा पिता ताराबहादुर माझी पनि उपस्थित थिए । आखिर जिप्रकामा परिवारकै रोहबरमा भएको छलफलमा सार्वजनिक नहुनुको कारणबारे भनेका थिए, ‘हाम्रो बेग्लै लक्ष्य छ, त्यसैले बाहिर देखा नपरेका हौंँ ।’ आश्चर्य त के भने सो छलफलमा विष्णुले पनि आफूलाई बाहिरी दुनियाबारे केही जानकारी नभएकाले पतिको सहयोग लिएको बताउँदै आफू कुनै करकापमा नपरेको स्पष्ट पारेकी थिइन् । पक्कै पनि हरेक मानिसलाई निजी जीवन आफ्नै हिसाबले बिताउन पाउने अधिकार छ । तर, लाखौं दर्शक/स्रोताको संवेदनामा खेलिसकेकी गायिका माझीलाई अब त्यसो भन्ने छुट छैन । या त उनले आफू पर्दाभित्रै रहनुको खास कारण देश र जनतालाई बताउनुपर्छ या दर्शक/स्रोतासामु उनी प्रकट हुनुपर्छ । आफ्नो निजी जीवनको अधिकारको जिकिर गरिरहँदा गायिका माझीले ती तमाम दर्शक/स्रोताको अधिकारको पनि ख्याल गर्नुपर्छ, जसको अपार मायाकै कारण उनी धेरै पारिश्रमिक लिने गायिकामा दरिएकी हुन् ।
आफूलाई सार्वजनिक नगरी केही समय भूमिगत हुन सकिन्छ । विश्वमा सयौं मानिससँग हरेक क्षण सम्पर्कमा रहनुपर्ने व्यक्ति पनि केही साता गुमनाम जीवन बिताउन कतै एकान्तमा जाने गर्छन् । विपस्यना ध्यान साधनामा जानेहरू १० दिनसम्म गुमनाम हुन्छन् । तर, भूमिगत हुनु ‘स्टाइल’, ‘सनक’ या ‘स्टन्ट’को विषय भने हुनु हुँदैन । अहिलेको खुला समाजमा एकालकाँटे भएर घरभित्रै गुम्सिएर रहनु भनेको अलि नपच्ने शैली हो कि ? हरेक वर्ष आफू भूमिगत हुनुको चर्चा चलिरहोस्, मानिसहरू कुहिराका काग बनिरहून्, जिज्ञासा जीवन्त रहोस् र यही नियोजित रहस्यको लाभ लिएर सदा प्रख्यात भइरहुँ भन्ने गायिका माझीको सोच हो भने यस्तो सोच तत्काल त्यागिदिए हुन्छ । बरु, अब यही कौतुहललाई उनले भजाउन सक्छिन् ।
स्वरको जादुबाट धेरै लाभ लिइसकेकी गायिका माझीले अब आफ्नो गायन जीवनको दोस्रो अध्याय प्रारम्भ गर्नुपर्छ । उनी अब विभिन्न महोत्सव, सांस्कृतिक कार्यक्रमहरूमा छाउनुपर्छ । टक–शोहरूमा पनि देखा पर्नुपर्छ । देश–विदेशको यात्रा गर्नुपर्छ । आफूलाई आजसम्म माया गर्दै आएका दर्शक÷स्रोतालाई नजिकबाट स्पर्श गर्नुपर्छ, माया बाँड्नुपर्छ र स्रोतासँगै झुमेर, रोएर, हाँसेर, नाचेर गाउनुपर्छ । अहिले लोकसङ्गीत मन पराउने मात्र हैन, सिङ्गो नेपाली जनपङ्क्ति गायिका माझीलाई भूमिगत जीवन त्यागेर खुला भएको हेर्न चाहन्छ । के दर्शक/स्रोताको यो मागलाई सधैँ उपेक्षा गरिरहने ? संसद्मै गुञ्जिसकेको यो मागप्रति गायिकाले अब गम्भीर भएर सोच्नैपर्छ । तीजको शुभकामनासहित गायिका माझीसमक्ष पङ्क्तिकारको पनि आग्रह छ– अब तपाई सार्वजनिक हुनैपर्छ ।