राष्ट्रिय पार्टीको नेतृत्व गर्ने गगन सबैभन्दा कान्छा सभापति हुन् : मुख्यमन्त्री बानियाँ

धुलिखेल : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपाली कांग्रेसभित्र देखिएका आन्तरिक विवाद र मतभेदलाई संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको ‘प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता, अदालतको फैसला र विधानअनुसारको प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

मुख्यमन्त्री बानियाँले निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको र अधिकांश नेताहरूले सोही पार्टीबाट चुनाव लडेको स्मरण गराउँदै अदालतको फैसला समेत टुंगिसकेको अवस्थामा अब नेतृत्व र पार्टी प्रक्रियामाथि अनावश्यक विवाद गर्न नहुने बताए। उनले राष्ट्रिय पार्टीको नेतृत्व गर्ने गगन सबैभन्दा कान्छा सभापति भएको बताउँदै पार्टीलाई द्रुत गतिमा अघि बढाउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री बानियाँले निर्वाचन आयोग र अदालतबाट भएका निर्णयपछि पनि अनावश्यक विवाद र ‘लफडाबाजी’ गरेर कुनै फाइदा नहुने बताए। उनले कांग्रेसभित्र अद्यावधिक प्रक्रियालाई वैज्ञानिक प्रणालीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सदस्यहरूको विवरण डिजिटल माध्यमबाट व्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले अहिलेको प्रविधियुक्त प्रणालीमा सदस्यहरूको मोबाइल नम्बर, अभिलेख र तथ्यांक व्यवस्थित हुने भएकाले पार्टी संगठनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बताए। पार्टीमा को सक्रिय छन्, को निष्क्रिय भए वा कसले पार्टी छाडे भन्ने विषय अद्यावधिक प्रक्रियाबाट स्पष्ट हुने उनको भनाइ थियो।

बानियाँले बागमती प्रदेशका १३ जिल्ला र ३३ क्षेत्रीय सभापतिहरू संगठन सुदृढीकरणको काममा सक्रिय रहेको उल्लेख गर्दै देशभर पनि पार्टी नेतृत्वले संवादमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले कांग्रेसभित्र आन्तरिक राजनीतिक प्रतिस्पर्धाका लागि पर्याप्त ठाउँ रहेको भन्दै फरक–फरक भेला र समानान्तर गतिविधिभन्दा पार्टीभित्रै बसेर प्रतिस्पर्धा गर्न नेताहरूलाई आग्रह गरे।

मुख्यमन्त्री बानियाँले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र, गणतन्त्र र संघीयताका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै कांग्रेसजनलाई विभाजनतर्फ होइन, एकताका साथ अघि बढ्न आग्रह गरे।