-
अनुषा थापा
पाँच छ दशकअघि सत्तामा बसेकाहरू आफ्नो भेष बदलेर वा पहिचान परिवर्तन गरेर जनताको घरमा पुग्थे । उनीहरू आफैँ बजारमा पुगेर त्यहाँ के भइरहेको छ ? महँगी कस्तो छ ? सर्वसाधारणको घरमा चुलो बलेको छ कि छैन ? भनेर अनुगमन गर्थे । त्यतिबेला नेपाललाई दुई ढुङ्गाबिचको तरुल भनिन्थ्यो । किनकि एकतर्फ चीन त अर्कोतर्फ भारत छ ।
सो समयमा पनि खेतीयोग्य जमिन मास्न नहुने बताइन्थ्यो । खेतीयुक्त जमिनमा घर तथा बाटो बनाउन नहुने त्यतिखेरका सत्ता सञ्चालकहरूको भनाइ थियो । त्यसैले, उक्त समयमा घर डाँडाकाँडा वा उब्जनी नहुने जमिनमा मात्र बनाइन्थ्यो । यता घुस लिने र दिने दुवै देशका शत्रु हुन् भनिन्थ्यो । र, यस्तो कसुर गरेको पाइएमा दुवैलाई कारबाही गरिन्थ्यो ।
नेपालमा राणा शासन वा राजतन्त्र थियो । यद्यपि, सो समयमा राज्य चलाउनेहरूले भारत र चीनलाई नेपालको एक इन्च पनि भूभाग मिच्न दिएका थिएनन् । आफ्नो राष्ट्रको सुरक्षा र रक्षा गर्न उनीहरू आफ्नो ज्यानै फ्याल्न समेत तयार हुन्थे । अर्कोतर्फ, विदेशी ऋण नेपालको एक सुको पनि थिएन । नेपालीहरू अन्य मुलुकमा श्रम गर्न पनि जान्न थिए ।
देशमा विभिन्न मितिमा राजनीतिक परिवर्तन भयो । त्यो पनि जनआन्दोलनले नै । वर्तमान सरकारमा मुलुकको प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छन् । नेपाली काँग्रेसकी नेतृ एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा परराष्ट्रमन्त्री छिन् । त्यस्तै, विष्णु पौडेल अर्थमन्त्री र रमेश लेखक गृहमन्त्री छन् । अहिले सत्तामा बसेकाहरू कहीँ हिँड्नुपरेमा झण्डावाला गाडीमा हिँड्छन् ।
अगाडि पछाडि सुरक्षाकर्मीको तीन-चार वटा गाडी हुन्छ । अनि एम्बुलेन्स जसरी साइरन बजाइन्छ । अहिले उच्च पदस्थको सुरक्षामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले जनताले तिरेको करबाट तलब भत्ता खान्छन् । उनीहरूले लगाउने पोशाक पनि जनताले नै तिरेको करबाट आएको हो । अर्को तर्फ उनीहरूले जागिर खाने समयमा नेताको होइन, देश र जनताको सुरक्षा गर्छु भनेर कसम खाएका हुन्छन् ।
अहिले मुलुककै प्रधानमन्त्रीमाथि निकै गम्भीर आरोप छ । झापाको गिरीबन्धु टी स्टेटको सरकारी जग्गा उनीसहितले व्यक्तिको नाममा पास गरेको आरोप छ । राज्यको सम्पत्तिको दोहनको आरोप लागेका व्यक्ति नै देशको प्रधानमन्त्री भएपछि कसरी सरकारी, सार्वजनिक सम्पत्तिको सुरक्षा हुन्छ भनेर हामी सर्वसाधारणले विश्वास गर्ने ?
अन्य मुलुकमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्रीलाई समेत पदबाटै बर्खास्त गरेको उदाहरण छ । तर, हाम्रो देशमा त काण्डै काण्डमा मुछिएका व्यक्तिहरु मात्र मन्त्री, प्रधानमन्त्री बनेका छन् । विडम्बना, हामी सर्वसाधारण जनता केही गर्न सक्दैनौँ । अर्थमन्त्री विष्णु पौडेलमाथि बालुवाटारको आठ आना सरकारी जग्गा आफ्नो छोराको नाममा पास गरेको आरोप छ ।
परराष्ट्रमन्त्री आरजुलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा तस्करी गरेको आरोप लागेको छ । देशभरीका सरकारी, सार्वजनिक र गुठीका जग्गा दर्ता गरेर खाने यिनीहरू नै हुन् । नेपालको भूभाग छिमेकी देशहरूलाई बेच्ने पनि यिनीहरू नै हुन् । ६५ अर्बका लागि नेपाल अमेरिकालाई बेच्न एनसीसी पारित गर्ने पनि यिनीहरू नै हुन् ।
जनताले तिरेको कर झ्वाम् बनाउने पनि यिनीहरू नै हुन् । विदेशमा रगत पसिना बगाएर हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुबाले पठाउनुभएको रेमिट्यान्स पचाउने पनि यिनीहरू नै हुन् । नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण ल्याएर मोज मस्ती गर्ने पनि यी नै हुन् । अहिले प्रत्येक नेपालीको टाउकोमा लाखौँ रुपैयाँ विदेशी ऋण छ । जबकि हामी जनताले भने कहिले एक छाक मिठो पनि खान पाएनौँ ।
देशमा रोजगारी नभएपछि नेपाली युवाहरू बिदेसिन बाध्य भएका छन् । वर्षेनी लाखौँको सङ्ख्यामा नेपालीहरू विदेशिन्छन् । तर, मुलुकमा रोजगारी सिर्जना गर्नुको साटो सत्तामा बसेकाहरू अब कुन देशसँग श्रम सम्झौता गरेर युवा पठाउने ? भनेर सोचिरहेका भेटिन्छन् । नेपालीलाई भेडाझैँ विदेशमा बेचिरहेका छन्, यिनीहरू ।
मिटर ब्याजका कारण हजारौँ सर्वसाधारणको उठीबास भयो । फेरि पर्दाभित्र बसेर मिटर ब्याजमा पैसा लगाउने पनि राजनीतिक दलका नेता तथा कर्मचारीहरू नै हुन् । यता, सहकारी खोलेर सर्वसाधारणको पैसा लिएर भाग्ने पनि यिनकै कार्यकर्ता हुन् । यतिसम्म कि बैङ्कदेखि दलालीसम्ममा यिनीहरूकै लगानी छ । अनि आफ्नो काम नभएको अवस्थामा गुण्डा लगाएर धाक धम्की दिने पनि दल र तिनका नेता, कार्यकर्ता नै हुन् ।
केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, रवि लामिछानेलगायतले सोचेका थिए कि नेपालमा जनता नै छैनन् । त्यसैले, यहाँ हाम्रो विरोध गर्ने कोही छैन । तर, हालसालै टुँडिखेलमा गौरा पर्व मनाउन पुगेका प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाविरुद्ध चर्को नाराबाजी भयो । त्यहाँ उपस्थित सर्वसाधारणले उनीहरूलाई बोल्न समेत दिएनन् ।
यसले यो बुझिन्छ कि नेपालमा अझै जनता छन् । र, अब जनता जाग्दैछन । हिजोसम्म यिनीहरूले सर्वसाधारणलाई ढाँटेर वा छलेर लुट्दै आएका थिए । तर, अहिले जनताले राजनीतिक दल र तिनका नेताहरूको असली रूप देखिसके । त्यसैले, अब हरेक सार्वजनिक कार्यक्रममा यीनीहरुविरुद्ध नाराबाजी हुनेछ । विरोधको आवाज उठ्ने छ ।
बङ्गलादेश र श्रीलङ्कामा जनता सडकमा उत्रिएपछि त्यहाँको सेनाले समेत जनताकै साथ दियो । अहिले हामी नेपालीहरू कामको लागि विदेशमा बेचिनुपरेको छ । विदेश गएका अधिकांश बाकसमा फर्किन्छन् । कामका लागि विदेश पुगेको आफ्नो छोराछोरा बाकसमा फर्किदा आमाबुबाको अवस्था के होला ? यो हामी कल्पना समेत गर्न सक्दैनौँ ।
यति मात्र नभई महँगी, बेरोजगारी अनि ऋणको बोझका कारण दिनानुदिन दिन आत्महत्या गर्ने सङ्ख्या पनि बढिरहेको छ । खान नपाएकै कारण कतिपयले आफूसँगै आफ्नो परिवार पनि सिध्याएका छन् । तर, जनताले तिरेको करबाट तलब भत्ता खाएर सुरक्षाकर्मीहरू देश बेच्ने दलालीहरूकै अघिपछि हिँडिरहेका छन् । यसले समग्र नेपालीकै शीर निहुरिएको छ ।
यता, सुरक्षाकर्मीहरू भारत र चीनले कब्जा गरेको नेपालको भूभाग पनि फिर्ता ल्याउन सक्दैनन् । केही वर्षअघि धादिङमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले जाँच दिन फिस तिर्न नसकेपछि आत्महत्या गर्यो । यो त एक मात्र उदाहरण हो । अहिले गरिबी, बेरोजगारीका कारण हरेक घरमा यस्ता घटना घटिरहेको पाइन्छ । कतै छोराछोरीले आत्महत्या गर्छन् त कतै आमाबुबाले ।
पछिल्लो समय बाटो, मठमन्दिरमा माग्ने पनि यत्तिकै भेटिन्छन् । अहिले घरघरमा माग्न आउन पनि धेरै छन् । तर, राज्य यिनीहरूलाई देख्दैन । यिनीहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको व्यवस्था गरिदिदैँन । शिक्षक राम्रो भएमा विद्यार्थी पनि असल हुन्छ । एउटा मानिसको राम्रो र नराम्रो दुवै भविष्य निर्माणमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ ।
त्यसैले, शिक्षक धैर्य र असल हुनुपर्छ । तर, शिक्षक आफू नपढाउने अनि विद्यार्थीलाई कुट्ने गरेमा त्यो विद्यार्थीको ज्यानै समेत जान सक्छ । अनि अन्य विद्यार्थीले त्यो शिक्षकबाट के सिक्ने ? त्यसरी नै अब राज्यको चौथो अङ्गको उपाधि पाएको सञ्चार माध्यम वा पत्रकारले पनि जनताले भागेका पीडा र राजनीतिक दलका कर्तुत बाहिर ल्याउनुपर्छ । सञ्चारकर्मीले दलको सदस्यता लिने होइन र देश र जनताको लागि कलम चलाउने हो ।