सूर्य उपासनाको महापर्व छठको तयारीमा सुनसरीमा जन–जन परिचालित

कार्तिक २१ गते । सूर्य उपासनाको महापर्व छठको तयारीमा सुनसरीमा जन–जन परिचालित भएको छ ।

सूर्य उपासनाको महापर्व छठ प्रारम्भ बर्तालुले मंगलबार ‘नहाय–खाय’ विधिबाटसुरु गरे संगै आज बुधबार खरना गरेका छन् ।

‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ । निरामिष (सात्विक) भोजन शुरू गरेर व्रत विधि शुरू हुने परम्परा छ ।

छठले गर्दा सुनसरीको इनरुवा,इटहरी,दुहवी,दुहवी,गढी,बर्जु सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

जिल्लाको सीमावर्ती स्थानीय तहहरुमा नदी, खोला, पोखरी तथा जलासय अभाव रहेको ठाउँमा कितृम पोखरी बनाएर पुजापाठको तयारी गरेको छ । शंकरपुर शाखा नरह अन्तरगत रामधुनी, डुम्राहा, मधेसा, घोपाली टोल, बलाहा, बबिया, जल्पापुर, गौतमपुर , राजगञ्ज सिनुवारी, मध्यहर्षाही, देवानगञ्जसम्म सयै घाट निर्माण भएको छ भने सितागञ्ज शाखा नहर, सुखसेना शाखा नहर, हरिपुर शाखा नहर सुनसरी खोला र मरिया खोलामा हजारौंको संख्यामा छठ घाट निर्माण गरिएको छ ।

छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिन थालेका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको सुनसरी दुहबिका ब्रतालु सरिता देवी यादवले बताइन् । पर्वले घर–घरमा व्यस्तता बढाएको छ ।

पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन् । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

मंगलबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले आज बुधबार कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

त्यसपछि षष्ठी तिथि बिहिबारका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाइन्छ ।

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन सुक्रबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडी अघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभरि जाग्राम बस्न गीत, सङ्गीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् । मिथिलामा यसपालि भोलि बिहिबार छठ व्रत (सझुका अरख) र पर्सी सुक्रबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ ।