सबै तहका निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठवन्धन वा तालमेल गर्नुहुँदैन:नेता डा. शेखर कोइराला

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीले अबदेखि सबै तहका निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठवन्धन वा तालमेल गर्न नहुने धारणा राखेका छन्।

नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा नेता डा.कोइरालाले महासमिति बैठकका लागि प्रस्तुत गर्ने प्रस्तावमा १६ बुँदे सुझाव दिँदै कोइरालाले पार्टीका २९ संसदीय निर्वाचन क्षेत्र र केही भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधित्व महासमिति बैठकमा नहुने अवस्थालाई गम्भीर रुपमा लिन समेत आग्रह गरेका छन्।

उनले संबिधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना नदेखिएको भन्दै संबिधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै दलहरुसँग संवादको लागि कांग्रेसले पहल गर्नु पर्ने धारणा राखेका छन्।

उनले ईतिहासको गुणगान मात्र गाउनु र यथास्थितिमै रमाउने बानी परिवर्तन गर्न आग्रह गर्दै सबै समस्यालाई मार्गचित्रसहित भरोसायुक्त समाधान दिने काम गर्नु पर्ने धारणा व्यक्ति गरे।

कोइरालाले बैठकमा प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरुमा गठबन्धनको छाँया परेको हो कि जस्तो देखिएको भन्दै महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरु पार्टीको मौलिकतामा आधारित हुनुपर्नेमा जोड दिए।

उनले पार्टीको बिधानमा धेरै त्रुटीहरु हुँदा सांगठनिक गतिबिधिमा बाधा आईरहेकोतर्फ संकेत गर्दै महासमितिको बैठकले “बिधान संशोधन मस्यौदा समिति” बनाएर बिधानलाई समयानुकुल परिमार्जन गर्न जरुरी रहेको बताए।

‘महामन्त्रीज्यूको सांगठनिक प्रस्तावमा १५औँ महाधिबेशनको कार्यतालिका आएको छ। यो महासमितिको बैठकले त्यो कार्यान्वयनको सुनिश्चिता गरिनु पर्छ’ कोइरालाले बैठकमा भने, ‘प्रस्तावहरुमा धेरै राम्रा कुराहरु समेटिएका छन तर यतिले मात्रै युवामा आशा जगाउन, रोजगारी सिर्जना, सुशासन कायम गर्न, उद्योगी, व्यवसायीका मागहरु संबोधन गर्न सक्दैन।’

कोइरालाले भनेका छन् ‘कृषि क्षेत्रमा मलखाद, सिचाई, बजार लगायतका कुराको संवोधन गर्ने गरी थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ। सूचना प्रबिधि क्षेत्रमा सफ्टवेयर निर्यात गरेर उर्जा र पर्यटन क्षेत्रमा लगानीको माहोल सिर्जना गरेर दिगो रोजगारी सिर्जना गर्न सकिन्छ।’

उनले देशको बातावरण र निराशा देखेर पढ्न लगायत बिभिन्न बहानामा बाहिरिने जनशक्तिका बिषयमा दस्तावेजमा उचित समाधान नदेखिएको, सामुदायिक बिद्यालयको उत्थान, बिश्वबिद्याललाई राजनीतिबाट मुक्त र अनुसन्धानमा प्राथमिकता, प्रभावकारी स्वास्थ्य बिमा, बृद्ध भत्तामा पुनरावलोकन, यातायातलाई राज्यको दायित्वमा लिनुपर्ने बिषयमा स्पष्टता जरुरी भएको बताए।

कोइरालाले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक महत्वको देशमा धार्मिक पर्यटनलाई बढावा दिनुपर्ने, भ्रष्ट्राचार र सुशासनका सम्बन्धमा राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचारलाई कडाइकासाथ नियन्त्रण गर्नु पर्ने, अनुसन्धान गर्ने निकाय, अदालत र कानुनका बिचमा तालमेल नहुने र मन्त्रीपरिषद्का सबै निणर्यलाई नीतिगत मानेर भ्रष्टाचार छल्ने आधार बनाएमा संविधान र लोकतन्त्र जनआक्रोशले संकटमा पुर्याउन सक्ने तर्फ सचेत गराए।

उनले कानुनको नजरमा सबै बराबर हुन भन्ने मान्यता स्थापित गरिनुपर्छ भन्दै देशको विकास र सुशासनको प्रमुुख बाधक बेरोजगारी समस्या र युवा पलायन भएको निष्कर्ष निकालेका छन्।

‘सहकारी र लघुवित्तमा देखिएको देशव्यापी समस्याको परिणाममुखि समाधान खोज्दै पीडितहरुलाई यथोचित न्याय दिनुपर्ने र देशको अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई सुनिश्चित गर्न अल्पकालिक र दीर्घकालिक नीति निर्धारण गर्नुपर्छ’, उनले भनेका छन्।

उनले पार्टी र पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधि वीचमा समस्या चुलिदो छ भन्दै त्यसलाई समन्वय गर्न पार्टी तहमै स्थायी सयंन्त्र निर्माण गरिनु पर्नेमा जोड दिए।

‘अधिबेशनबाट मात्रै लोकतान्त्रिक पार्टी जीवन्त रहने हुँदा पार्टीका सम्पूर्ण भातृ एवं शुभेच्छुक संघसंस्थाहरुको अधिबेशन यथासक्य छिटो गरिनुपर्छ र तदर्थवादबाट संगठन चलाउने मानसिकता त्याग्नु पर्छ’, उनले भने।

डा.कोइरालाले महासमितिको बैठकलाई फलदायी एवम् उपलब्धीमूलक बनाएर अघि बढ्दै अबदेखि पार्टीमा कसैप्रति कुनै प्रकारको अन्याय हुनेछैन भन्ने प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए।