
असोज १३ गते । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८२ विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति र राष्ट्रिय कविता महोत्सवका लागि हिजो आइतबार उत्कृष्ट १० कविता छनोट गरेको छ ।

कवि विमल गुरुङ्को ५४औं जन्म जयन्ती तथा ३४ औ राष्ट्रिय कविता महोत्सवको अवसरमा पुस्तकालयमा प्राप्त भएका १०४ कृतिमध्येबाट छानिएका १० उत्कृष्ट कृतिमध्ये एकलाई आउँदो कात्तिक १९ गते कवि विमल गुरुङको जन्मजयन्तीका अवसरमा ताम्रपत्रसहित रु.२ लाख रुपैयाँ नगदसहित सम्मान गरिने भएको पुस्तकालयका अध्यक्ष पुर्णबहादुर गुरुङ्ले जानकारी दिए ।
कविता महोत्सवमा उत्कृष्ट तीन कवितालाई क्रमश प्रथम, द्वितीय र तृतीय स्थानका लागि प्रमाणपत्र, पदक (स्वर्ण, रजत, कास्य) र नगद रु.२१ हजार, र.१९ हजार र रु.१८ हजार रुपैयाँसहित राष्ट्रिय कविता महोत्सब २०८२ को अवसरमा प्रदान गरिने अध्यक्ष गुरुङ्ले बताए ।
उनले विमल गुरुङ कृति पुरस्कारका लागि प्राप्त भएका १०४ कृति मध्ये छनोटमा परेका कृतिहरूमा ‘डायस्पोराः अवधारणा र अभ्यास’ (रक्ष राई),‘रातो नदी’ (जुनु राना), ‘डोलीभर्ना’ (डा. चित्र माबो), ‘सिमसारा’ (बसन्त बस्नेत), ‘काचको पोखरी’ (टीका भाइ), ‘नातिपुस्ताको खेल’ (कृष्ण बराल), ‘मोहोर’ (सागर गैरे), ‘जब कविता निस्कन्छ जुलुसमा’ (सुरज राना), ‘कोइलाखाद’ (श्याम सिंघक) र ‘गण्डकी प्रदेशका गुरुङ जातिका सामाजिक सांस्कृतिक लोकनाच र लोकबाजाहरूको अध्ययन’ (तेज बहादुर गुरुङ) रहेका छन् ।
यस्तै, ३४औं राष्ट्रिय कविता महोत्सवका लागि देश तथा विदेशबाट प्राप्त ९० कवितामध्येबाट उत्कृष्ट १० कविता छनोट गरिएको छ ।
जसमा ‘छातिभित्र पृथ्वी’ रिजन मायालु, ‘भूपरिवेष्ठित चेतना’ राजु उवरकोटी (दोलखा),‘संग्रहालयमा थन्किएको खापसियो’ दीपा मग्राती (सुनसरी),‘पसिनाको सौन्दर्य’ किशन पौडेल (हेटौंडा),‘अभिशप्त जिन्दगी’ बाबुराम श्रेष्ठ (सिन्धुली) ,‘रातो रङ्ग’ आरती आचार्य (म्याग्दी),‘सपनाहरूको आँखाबाट’ याम मगर (रोल्पा),‘फर्किन्छु अब देश’ विनेश राई मिन्जाई (सुनसरी),‘दिशाहीन समयको प्रेतात्मा’ सून्य नयन (गोरखा) र ‘देशको ठेगाना’ शुचरा (खोटाङ) छनोट गरिएको छ ।
विसं २०४८ को वैशाख २४ गते धादिङको जुकेपानीमा भएको सवारी दुर्घटनामा निधन भएका कवि विमल गुरुङको स्मृतिमा स्थापित धरान उपमहानगरपालिका १८ मा रहेको पुस्तकालयले विगत लामो समयदेखि साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ ।
पत्रकारितासँगै कविता लेखनमा सक्रिय गुरुङका ‘एक किलो जंगल’, ‘आत्मघोषणा’ र ‘शहरको प्रगाढ मौनता’ नामक तीन कविता संग्रह प्रकाशित छन् । उहाँको निधनपछि उहाँका पिता पूर्व ब्रिटिस गोर्खा सैनिक पूर्णबहादुर गुरुङले धरान स्थित बुद्धचोकमा पुस्तकालय स्थापना गरेका थिए ।