अरिहन्त मल्टी फाइबर्स लिमिटेड बाढीका कारण डुबानमा पर्दा २० करोड रुपैयाँभन्दा बढीको क्षति

सुनसरीको सोनापुरस्थित नेपालकै सबैभन्दा ठूलो जुटमिल अरिहन्त मल्टी फाइबर्स लिमिटेड बाढीका कारण डुबानमा परेको छ।

स्थानीय ट्याङ्ग्रा खोलामा आएको बाढी उद्योग परिसरमा पसेपछि उद्योग डुबानमा पर्दा २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो।

उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार अविरल वर्षापछि खोलामा आएको बाढीले उद्योग परिसरमा पसेर तयारी जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी उपकरणहरू पूर्ण रूपमा डुबाएको छ।

नेपालकै सबैभन्दा ठूलो जुटमिलका रूपमा परिचित अरिहन्तमा करिब ५ हजार मजदुर तथा कर्मचारीहरू कार्यरत छन्।सो उद्योगमा तीन सिफ्टमा २४ सैं घण्टा उत्पादन भइरहने गरेकोमा डुबानपछि उद्योगको सम्पूर्ण काम बन्द भएको बताइएको छ।

त्यसैगरी, सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत उक्त क्षेत्रमा रहेका अन्य उद्योग र वरपरका मानव बस्तीहरू पनि डुबानमा परेका छन्।