छठ पर्वमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिदै

कार्तिक ३ गते । सुनसरीको विभिन्न भेगका जलासयहरुमा छठ पर्वको अवसरमा आज साँझ ब्रतालु हरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरिरहेका छन् ।


छठले गर्दा सुनसरीको इनरुवा, इटहरी,दुहवी,गढी,बर्जु ,सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।
कतै घर अगाडि नै कृत्रिम पोखरी बनाएर त कतै जलासयहरुमा छठ घाट बनाएर स्थानीयहरु व्यस्त बनेकाले जिल्लाभरी छठपर्वको रौनक बढेको हो ।

आज छठको तेस्रो दिन अर्थात् छठ पर्वको मुख्य दिन । यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बसी साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गईएर पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । सूर्य पूजा गर्ने घाटलाई बेहुली झैँ सिंगारिएको छ ।


सूर्य उपासनाको महापर्व छठको तयारीमा यस क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट गरेका छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।


कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ ।

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।