बर्जु गाउँपालिका कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु

चैत २९ गते । बर्जु गाउँपालिका कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ ।


कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको पालिकाले जनाएको छ ।

बर्जु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्न थालिएको बताउनुभयो ।

उहाँका अनुसार यस कार्यबाट सेवाग्राहीमैत्री कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । आर्थिक वर्षको सुरुवातसँगै नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि मापन गर्न थालेको हो । सर्वेक्षणमा महवपूर्ण छ वटा विषयलाई प्राथमिकता दिइएको पालिकाले जनाएको छ ।

बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार रायले सर्वेक्षण फाराममा सेवा प्राप्त गर्दाको सहजीकरण शैली, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको जवाफ लिने गरिएको बताउनुभयो ।

त्यसैगरी सेवा प्रवाहमा कर्मचारीले दिने आवश्यक सूचनाको स्पष्टता, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने गरिएको छ । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि मौलिक सुझाव पनि दिन सकिने व्यवस्था छ । सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठपोषणसहित सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको अध्यक्ष रायले बताउनुभयो ।

सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्नेछ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सकिने कार्यालयको विश्वास छ ।
सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने पालिकाले जनाएको छ । सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्ने कार्यले सुशासनको प्रत्याभूतिमा समेत सघाउ पुग्ने बताइको छ ।