आन्तरिक राजश्व विभागको ५७० वटा स्टिकर सहित एक जना पक्राउ

सूतीजन्य उत्पादनहरूमा एक पटक प्रयोग भैसकेको आन्तरिक राजश्व विभागको कर बुझाएको ५७० वटा स्टिकर पुनः प्रयोग गर्न सङ्कलन गरी बोकेर हिँडेको अवस्थामा इलाका  प्रहरी कार्यालय दुहाबिबाट खटिएको प्रहरीलेले बर्जू गाउँपालिका-६ चिमडीका २१ वर्षीय जीवन प्रकाश यादवलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार हरिनगराबाट चिमडी आउँदै गरेका यादवको झोलामा आन्तरिक राजश्व विभाग अङ्ग्रेजीमा रेडियम टोबाको लेखिएको ५७० वटा स्टिकर बरामद गरिएको हो ।

बजारमा विक्री गरिएका भोला गुट्खाको प्याकेटमा प्रयोग भैसकेका उक्त स्टिकरहरू पुनः प्रयोग गर्नका लागि सङ्कलन गरिएको पाइएको छ । राजश्व सम्बन्धी ऐन, नियम अनुसार एक पटक प्रयोग भैसकेको अन्तःशुल्क स्टिकर पुनः प्रयोग गर्न पाइँदैन ।

यादव भोला गुट्खाको मार्केटिङको काम गर्दै दैनिक विराटनगरबाट ३ देखी ४ बोरा गुट्खा कप्तानगञ्ज, साहेबगञ्ज, हरिनगरा, देवानगञ्ज लगायतका बजारमा खुदरा पसलेलाई विक्री गर्दछन् । त्यसरी विक्री गरेको पसलहरूबाट उनले पुरानो स्टिकर पुनः प्रयोग गर्न सङ्कलन गरेको पाइएको प्रहरीले जनाएका छ ।

प्रयोग भैसकेका स्टिकर पुनः प्रयोग गरी राजश्वमा ठग्ने कार्य गर्दै आएका यादवलाई प्रहरीले गएको बुधवार भाइटिकाको दिन पक्राउ गरी राजश्व कार्यालय पठाइएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।