सुनसरीमा एक हप्तामा सात वटा आगलागी

मंसिर १ गते । सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात वटा आगलागीको घटना भएको छ ।

जिल्ला सदरमुकाम इनरुवामा चार वटा सहित हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा गरि सात वटा आगलागीको घटना भएको छ ।

विभिन्न स्थानमा भएको आगलागीमा करोड बढीको क्षती भएको पीडितहरुले बताएका छन् । तिहारमा दिपावलीको दिन पटका पडउदाँ परेको झिल्कोले कार्तिक २६ गते राति इनरूवा नगरपालिका–१ स्थित मुख्य बजारमा रहेको वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको थियो ।

उक्त आगलागीमा ५० लाख बढीको घर, धनमाल र सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । इनरुवा–१ स्थित वृद्धिचन जैनको घरमा लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका रुखको बोट नजिक खस्दा आगलागी भएको थियो । आगोलाई इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनी लगायतका स्थानबाट आएका आठ वटा वारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

त्यसैगरी कार्तिक २७ गते देवानगञ्ज गाउँपालिका १ मध्यहषार्ही पालटोलमा भिखो पालको घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षती भएको थियो । स्थानीयबासी र देवनागञ्जको दमकलले आगो नियन्त्रणमा दिएको थियो । अग्नी पीडितलाई नेपाल रेडक्रस सोसाइटी इनरुवा उपशाखाबाट राहत सामग्री वितरण गरिएको कोशी प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री रामप्रसाद मेहताले राहत वितरण गर्नुभयो ।
त्यसैगरी हरिनगर गाउँपालिकामा पनि एउटा आगलागीको घटना भएको छ । यता इनरुवा नगरपालिका ९ बबियाको विन्दा साहको परालमा भएको आगलागीमा एउटा भन्साकोठामा क्षती भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी कार्तिक ३० गते विहीबार इनरुवा नगरपालिका २ लक्ष्मीनारायण मन्दिर टोलको सुरेन्द्र मेहतोको घरमा भएको आगलागीमा दुई वटा घर , छिमेकी गणेश यादवको एउटा भन्साकोठामा क्षती भएको प्रहरीले जनाएको छ । उक्त आगलागीमा झण्डै ३५ लाख बराबरको क्षती भएको पीडित सुरेन्द्र महतोले जानकारी दिनुभयो । महतोका अनुसार कृषि औजारहरु, दुई वटा घर र नगद दुई लाख ५० हजार समेत जलेर नष्ट हुदाँ झण्डै ३५ लाख बराबरको क्षती भएको हो ।
यता शुक्रबार मात्रै इनरुवा २ का लक्ष्मी मेहता र मनोज मेहताको घरमा विधुत्त सर्ट भएर आगलागी भएको छ । समयमा नै इनरुवा नगरपालिकाको दलमक र नेपाल प्रहरी सहितको टोली घटनास्थलमा पुगेकाले सामान्य क्षती भई आगो नियन्त्रणमा लिएको छ । घरमा रहेको खाध्यान र लताकपडा मात्रै जलेर नष्ट हुदाँ एक लाख बराबरको क्षती भएको पीडित मनोज मेहताले जानकारी दिनुभयो ।
आगलागीबाट बच्न के गर्ने ?

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले आगलागीबाट बच्ने सबैभन्दा ठूलो उपाय भनेको व्यक्तिगत सावधानी नै भएको बताउनुभएको छ । आगलागीको जोखिमबाट बच्न विद्युतीय उपकरण चलाउँदा तथा आगोसँग काम गर्दा सर्तकता अपनाउनुपर्ने , हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने, धानको सिजन भएकाले परालबाट आगो लाग्न सक्ने भएकाले सलाई,लाईटर बालबालिकाको पहुच भन्दा टाढा राख्न र आगोको प्रयोग सावधानी पूर्वक गर्न आग्रह गर्नुभएको छ । आगो फैलिएपछि नियन्त्रण लिन कठिन हुने भएकाले आगो लाग्न नदिने उपाय सबैले अबलम्बन गर्नुपर्ने बारेमा आफूहरुले समुदाय प्रहरी कार्यक्रम मार्फत सचेतना गर्दै आएको र थप स्थानीय तहहरुले पनि सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

वहाँले धान, पराल र हावाहुरी भएका बेला बाहिर आगो बाल्नुहुँदैन भने विद्युत सर्ट भएको अवस्थामा पनि जोगिनुपर्ने ,आगो फैलिएमा बस्तीमा रहेको जनघनत्वको विश्लेषण गर्दै आगलागीका घटना न्युनिकरण गर्ने उपाय सोचिनुपर्ने आवश्यक रहेको बताउनुभयो । वारुण यन्त्र लगायत अन्य अग्नि नियन्त्रणहरु, ‘अर्लि वारनिङ सिस्टम’ वा ठुला घरहरुमा समेत आगलागि नियन्त्रकका उपायहरु अपनाइनु पर्ने आवश्यक छ । ‘भवितव्य बाजा बजाएर आउँदैन, त्यसैले सावधानी आफैं अपनाउनुपर्छ’ भन्ने भनाईलाई आत्मसाथ गर्दै सम्भावित घटनाको पूर्व तयारी प्रति आफू सचेत र जिम्मेवार हुनुपर्छ, भण्डारीले भन्नुभयो ।