उदयपुरचौदण्डीगढीकामा जेनजी युवाको आक्रमणः मेयर–उपमेयर लखेटिए

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ ।

तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।

चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’ भन्दै आवाज उठाएका थिए । कार्यक्रम सुरु हुनासाथ युवाहरूको समूहकार्यक्रम स्थलमा पुग्ने वित्तिकै, उपमेयरलगायत जनप्रतिनिधिहरू भागेका थिए  ।

चौदण्डीगढी–९ का वडाध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतका अनुसार जेनजी युवाहरूले कार्यक्रम स्थल कब्जा गरेपछि जनप्रतिनिधिहरूले सुरक्षा जोखिम महसुस गरी स्थल छाडेका हुन् । उनले भने, “कार्यक्रम सुरु हुनै लागेको थियो । अचानक युवाहरूको समूह आए र हामी बाहिरियौं ।”

घटनाको कारण चौदण्डीगढी–१० मा रहेको जनउत्थान कृषि तथा पशु सहकारीको विवादसँग जोडिएको बताइन्छ । उक्त सहकारीका अध्यक्ष वडा नम्बर १० कै वडाध्यक्ष धमेन्द्रकुमार खड्का हुन् । सहकारीमा करिब २० लाख रुपैयाँ हिनामिनाको आरोप लगाउँदै जेनजी युवाहरू लामो समयदेखि विरोधमा थिए । युवाहरूले सोही विवादको कारण जनप्रतिनिधिहरूलाई पनि जिम्मेवार ठहर गर्दै आजको कार्यक्रममा आक्रमण गरेको स्थानीय नवराज राउतले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चौदण्डीगढी बेल्टारका प्रहरी निरीक्षक बबिन राईले घटनाबारे पुष्टि गरेका छन् । उनका अनुसार जेनजी समूहका युवाहरूले शुभकामना कार्यक्रममै आक्रमण गरी व्यानर र माइक कब्जा गरेका थिए । “कार्यक्रम स्थलमा केही हल्ला र तोडफोड भएको छ, अहिले स्थिति नियन्त्रणमा छ,” राईले बताए ।