कार्तिक १३ गते । हामीले नेपालमा भनेजस्तो काम नै नपाइने, काम पाइहाले पनि राम्रो कमाई नहुने भन्ने कुरा धेरैको मुखबाट सुनिरहन्छौं ।
त्यसैले नै होला भनेजस्तो काम र राम्रो दाम खोजीमा धेरै युवा विदेशी रहेका देखिन्छन् । तर मेहनत गर्ने र लगनशील भएर काम गर्ने हो भने विदेशमा जत्तिकै आम्दानी स्वदेशमा नै हुन्छ ।
त्यसकै उदहारण स्वरूप सफल हुनुभएका बर्जु गाउँपालिका– २ का ४१ वर्षीय बृजेन्द्र कुमार रायले घर नजिकै जग्गा किनेर व्यावसायिक गाई पालन सुरु गरी मगन्य आम्दानी लिन सफल भएको छ ।
केशलिया एग्रिकल्चर फार्म एण्ड रिसर्च सेन्टर फार्म मार्फत पाँच वर्षअघि करिब १० वटा गाईबाट व्यवसाय सुरु गरेका उहाँका गोठमा अहिले ५५ वटा गाई पुगेको छ । उहाँले जर्सी, होलिस्टिन क्रस गाई पाल्नुभएको छ । गाई पालनका लागि उन्नत जातका घाँससमेत उहाँले लगाउनुभएको छ ।
गाई र तिनका स्याहार गर्न दैनिक चिकित्सकको टोली नै फार्ममा खटिएको छ । फार्ममा माउ गाई वा को दूध दिने नदिने गाईको गोठ पनि छ सफासुग्घर गोठ भएकाले दुर्गन्ध नआउने र गाई पनि विरामी कम पर्ने गरेका छन् । निकट भविष्यमा दाना उद्योग सञ्चालन गर्ने योजना पनि रहेको रायले जानकारी दिए ।
एउटा गाईले औसतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उहाँ बताउनुहुन्छ । सबै गाईको दैनिक ५०० लिटरभन्दा बढी दूध उत्पादन गर्ने उहाँले दैनिक ३० देखि ४० लिटर जति स्थानीय बजारमा खपत गर्ने र बाँकी बिराटनगर पठाउनु हुन्छ । स्थानीय बजारमा प्रतिलिटर रु ८२ मा बिक्री हुने दूध बिराटनगर पठाउँदा प्रतिलिटर ८० रुपैयाँ पर्छ ।
“मासिक आठ लाख सम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि १ लाख बचत हुन्छ”, उहाँले भन्नुभयो, “विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।
व्यावसायिक गाई पालन गरेबापत कोशी प्रदेश सरकारले दुध चिस्यान गर्ने मेसिन, च्यापकटर उपलब्ध गराएको रायले बताए ।
अहिलेसम्म दैनिक पाँच सय लिटरसम्म दूध बिक्री गरेको र भविष्यमा दैनिक एक हजार लिटरसम्म दूध बिक्री गर्ने गरी योजना बनाएको उहाँले सुनाउनुभयो ।
गाई पालनबाट वार्षिक करिब ७० देखि ८० लाख सम्मको कारोबार हुने बृजेंद्र कुमार रायको भनाइ रही आएको छ । केहि जग्गा आफ्नै भएको र अरु लिजमा लिएकोले व्यवसायमा सहजता मिल्यो उहाँले भन्नुभयो । गाई पालनमा लागेको हुँ सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।
गाईलाई दानाका लागि सहज ढुवानी एवं दूध बजारसम्म लैजान मोटरबाटो सहज बनाइदिन रायले आग्रह गर्नुभयो । सडकमा नाली नहुँदा एक पटक पानी आए बिग्रिने र त्यसपछि दूध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उहाँले बताउनुभयो ।
“बाटो बिग्रेको पालिकालाई जानकारी गराउँदा पालिकाले सकेसम्म छिटै समाधान गर्ने प्रयास त गर्छ”, उहाँले भन्नुभयो, “नाली नहुँदा थप समस्या छ ।” त्यसका साथै स्थानीय बजारमै दूध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाइका लागि पानी एवं नगद अनुदानको सट्टा दाना, मल र बीउमा अनुदान दिएमा दूध उत्पादनमा वृद्धि गर्न सकिने रायको भनाइ छ ।
घाँसपातका लागि केही असहज भए पनि अन्य धेरै दुःख नरहेको उहाँको भनाइ छ । बिहान साढे ४ बजेदेखि राति अबेरसम्म काममा व्यस्त रहँदा आफ्नै घरमा परिवारसँग बसेर दूध, दही र मोही खान पाउँदा आफूलाई विदेश जानुभन्दा धेरै खुसी र आनन्द रहेको उहाँ बताउनुहुन्छ ।
रायका अनुसार बर्जु क्षेत्रमा व्यावसायिक रूपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड दिएको बताए ।
सोही क्रममा सुनसरीमा पनि व्यक्तिगत, सामूहिक र सहकारी मार्फत समेत गाई पालन फस्टाउदै गएको छ ।
रायले गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका विषयमा ध्यान दिन भने जरुरी रहेको बताउनुहुन्छ ।
गाईपालन गर्दा खोरेत रोगले गाईलाई दुःख दिने र बेलाबखत रोग लागेमा दुध उत्पादन आधा घट्ने र व्याउने गाई तुहिने सम्भावना रहेको गुनासो समेत रहेको पाइएको छ । यो जिल्लामा कहिलो काही भ्यागुते, चरचरे, पटके, थुनीलो, बाँझोपन, साल अड्कने, भंडार फर्कने, बाच्छाबाच्छि अड्कने, गर्भ तुहिने जस्ता रोगले दुःख दिने पनि गरेकोले त्यसका विरुद्ध रोगसंग लड्ने भ्याक्सिनको प्रयोग गर्ने गरेको छ ।
गाई पालन व्यवसाय सफल हुँदै गएपछि बेरोजगार र विदेशिन जाने युवालाई यस व्यवसायतर्फ लाग्न रायले सुझाव पनि दिने गर्नुभएको छ ।