सहमतीय सरकार निर्माण गर्छु ः मुख्यमन्त्री कार्की

कार्तिक १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताएका छन् ।

वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको जिकिर गरे ।

कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सोकुरा बताएका हुन् ।


बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने र कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ रहेको थियो । मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन ग¥यो त्यो गुणलाई आफूले नबिर्सने भन्नुहुँदै यसअघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताए ।


उनले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताए । उनले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरि सञ्चारकर्मीलाई कलम चलाउन आग्रह गरे ।


कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्यसहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।