शैक्षिक क्षेत्रमा सुधार गर्न इनरुवा नगरपालिकामा ध्यानाकर्षण

साउन २८ गते । इनरुवा नगरपालिकामा गुणस्तरीय शिक्षाको लागि शैक्षिक सुधार अभियान इनरुवा र सरोकारबालाहरुले ध्यानाकार्षण गराएको छ ।

नगरको शिक्षा सुधारका लागि तीन महिना अघि २९ वुदें माग तथा सुझावहरु सहितको ज्ञापान पत्र बुझाएकोमा त्यसको कार्यान्वयन नभएको भन्दै सरोकारबालाहरुले ध्यानाकार्षण गराएको हो ।

इनरुवा नगर शैक्षिक सुधार अभियानका संयोजक दिलपचन्द साहुको नतृत्वको टोलीले इनरुवाका नगर प्रमुख केदार भण्डारीलाई सरोकारबालाहरुले ध्यानाकार्षण गराएको जनाएको छ ।

विगतको ज्ञापन पत्रमा उल्लेख भएको सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नुपर्ने र निजि विद्यालयमा अनिवार्य विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने, नगरपालिकाले शुल्कवृद्धि लगायतको निर्णय लिदाँ अभिभावक समितिसंग सहमति लिनुपर्ने, कक्षा–३ सम्मका विधार्थीलाई नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी किताब उपलब्ध गराउनुपर्ने मागको सुनुवाई किन नभएको भन्दै प्रश्न गर्दै ध्यानाकार्षण गराएको छ ।

त्यसैगरी ध्यानाकार्षण पत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठनको व्यवस्था गर्नुपर्ने, कम्प्युटर, प्रयोगशाला, इन्टरनेट, विद्यार्थी र शिक्षकको इ–हाजिरीको व्यवस्था गर्नुपर्ने, प्रत्येक विद्यालयमा प्रत्येक शिक्षकले शिक्षा रुपान्तरणको लागि प्रतिबद्धता गर्नुपर्ने, निजि विद्यालयहरुको शिक्षकहरुको तलब समान हुनुपर्ने, नगरपालिकाले नगद पुरस्कार र प्रमाणपत्र सहित उत्कृष्ठ शिक्षक र उत्कृष्ट विद्यालयको व्यवस्था गर्नुपर्ने, नगरपालिकामा आधारभूत तहमा बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्ने उल्लेख गरेका छन् ।

त्यसैगरी अभियानले सामुदायिक विद्यालयले पनि कक्षा–१ देखि कक्षा–१० सम्म उत्तरपुस्तिका अभिभावक समक्ष उपलब्ध गराउनुपर्ने, कक्षाकोठाको व्यवस्थापन र सुधार गर्नुपर्ने , कक्षा ११, १२ (+२) मा चाहिने सबै विषयको पठनपाठनको व्यवस्था गर्नुपर्ने, नगरपालिकाले शिक्षाको सम्पूर्ण आर्थिक, भौतिक अवस्थाको चौमासिक रूपमा प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नगरको सबै मा.वि.मा प्राबिधिक शिक्षालय स्थापना गर्नुपर्ने माग गरेका छन् ।

उता सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आ–आफ्नो छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, प्रयोगात्मक परीक्षा महिनामा १ पटक गराउनुपर्ने, सामुदायिक विद्यालयमा पाठयोजना, पाठनोट तयार गरि पठनपाठनको व्यवस्था गर्नुपर्ने, शैक्षिक मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयसंग समायोजन गर्नुपर्ने भनेको छ ।

त्यसैगरी शिक्षकहरुलाई समयानुकुल तालिमको व्यवस्था गर्नुपर्ने, प्रत्येक विद्यालयले ४÷४ महिनामा शिक्षक–अभिभावक अन्तरक्रिया गर्नुपर्ने, नगरपालिकाले स्थानीय पाठ्यक्रम तत्काल लागु गर्नुपर्ने र त्यसमा क्रमशः सुधार गर्नुपर्ने , नगरपालिकाले विद्यालयहरुमा हुने अतिरिक्त क्रियाकलापहरुमा लगानी वृद्धि गर्नुपर्ने उल्लेख गरेका छन् ।

यसैगरी मापदण्ड भन्दा बढी विद्यार्थी भएको विद्यालयमा कक्षाकोठा र शिक्षकको थप व्यवस्था गर्नुपर्ने, शिक्षा नियमावली अनुसार प्रत्येक पाँच वर्षमा कार्यसम्पादनको आधारमा प्र.अ.को नियुक्ति वा प्रतिस्प्रधाबाट प्रअको व्यवस्था गर्नुपर्ने, नगरक्षेत्रका शिक्षकहरुलाई विषय र तह अनुसार दरबन्दी मिलान तथा आन्तरीक सरुवाको नीति अबलम्बन गर्नुपर्ने माग गरेका छन् ।

अभियानका सदस्य सिंहेश्वर मेहताका अनु्सार ध्यानाकार्षण पत्रमा स्थानीय शिक्षा ऐन, नियमावली र कार्यविधी बनाई कार्यान्वयन गर्नुपर्ने , सामुदायिक विद्यालयमा अङ्ग्रेजी पढाउने नाउँमा विद्यार्थीबाट कानुन विपरीत शुल्क असुल्न बन्द गर्नुपर्ने, सामुदायिक विद्यालयमा एउटै शिक्षकले अग्रेंजी र नेपाली माध्यममा फरक फरक समयमा पढाउने भएकाले चरम विभेद भएकाले यसमा निगरानी गरि एकरुपता कायम गर्नुपर्ने र बार्षिक बजेट, निति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने माग गरेको छ ।

संयोजक दिलिपचन्द साहुका अनुसार माग तथा सुझावहरुको कार्यान्वयन तीन महिना भित्र नभएको खण्डमा थप चरणबद्ध र संर्घषका कार्यक्रम गर्न बाध्य हुने चेतावनीलाई बेवास्ता गरेकाले आईतबार सरोकारबालाहरु सहित प्रमुखलाई ध्यानाकार्षण गराएको हो । माग र सुझाव सबै जायज भएको जानकारी प्राप्ता भएको भन्दै नगर प्रमुख भण्डारीले नगर शिक्षा ऐन बनेको र सबै मागलाई सम्बोधनको प्रयास भएको र केही सम्बोधन भएको प्रतिकृया दिनुभएकोछ । भण्डारीले अग्रेंजी र नेपाली माध्यममा पढानउे विद्यालयहरुले रकम उठाएको विषयमा शिक्षा शाखालाई पत्र काटेर कारण सोध्न र सचेत गराउने निर्देशन दिएको बताउनुभयो ।