दुहबीकी नाबालिका बन्धक बनाउने ३ जना पक्राउ

साउन १७ गते । सुनसरीको दुहबीबाट नाबालिकालाई बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधवार बिहान सकुशल उद्धार गरेको थियो । दुहबी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मङ्गलवार दिउँसो अपहरणमा परेकी थिइन् ।

मामाघरमा खेलिरहेका बेला बालिका बेपत्ता भएको जानकारी अभिभावकले इलाका प्रहरी कार्यालय दुहबीमा गराए संगै त्यस लगत्तै प्रहरी निरीक्षक मोहन पोखरेल नेतृत्वको टोलीले खोजी तीव्र पारेको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवानले खेलिरहेको अवस्थामा नाबालिकालाई उठाएर अभिभावकको मन्जुरी बिना नै लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

सञ्जयले अभिभावकको अनुमति नलिईकन दुहबीबाट नाबालिकालाई ल्याएर विराटनगर–१० स्थित आफन्तको डेरामा बन्धक बनाएर राखेको जानकारी भण्डारीले दिए । विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान डेरा बस्छन् । डेरा बसेकै कोठामा बालिकालाई रातभर बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।
इप्रका दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधवार बिहान ६ बजेतिर बालिकालाई फेला पारेर सकुशल उद्धार गरेको डिएसपी भण्डारीको भनाइ छ । अभिभावक र आफन्त कोही कसैलाई पनि नसोधीकन नाबालिकालाई सञ्जयले लगेका थिए ।

प्रहरी स्रोतका अनुसार नाबालिकाकी ठुलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौँमा गएकी थिइन् । उनलाई विदेश जानबाट रोक्नका लागि बार्गेनिङ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको प्रहरीको भनाइ छ ।

नाबालिकालाई लिएर गएपछि सञ्जयले पीडितका मामालाई फोन गरेका थिए । तेरो भान्जी मेरो कब्जामा रहेको दिदीलाई घर बोलाउने भए फिर्ता ल्याइदिन्छु । होइन भने अरूलाई नै दिन्छु भनेर सञ्जयले नाबालिकाको मामालाई फोन गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नाबालिकाको उद्धार गर्नुका साथै उनलाई कब्जामा लिने सञ्जयसहित उनका आफन्तहरू कलानन्द र सरितालाई पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध अदालतबाट बुधवार ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डिएसपी भण्डारीले बताए ।