कोशी प्रदेशमा लापसेको परिक्षण सुरु

असार २५ गते । कोशी प्रदेशमा आइतबारदेखि लागुपदार्थ सेवन कर्ताको परिक्षण सुरु भएको छ ।


सार्वजनिक यातायातमा यात्रा गर्ने सर्वसाधारणको जीवनलाई सुरक्षित राख्न लापसे अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी इन्पेक्टर सुनिलकुमार श्रेष्ठले बताए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मोरङ प्रहरीको सहयोगमा मादकपदार्थ सेवन (मापसे) अभियानलाई जोडतोडका साथ अगाडी बढाएपछि सार्वजनिक सवारी साधन चलाउने चालकले लापसे सेवन गरेर सवारी साधन कुदाउन थालेका छन् ।

सिटी सफारी, टेम्पु, बस, मिनीवस, म्याजिक, ट्रक, तेल ट्याङ्कर, स्कुल बस, एम्बुलेन्स, ट्याक्टर चालकलाई लक्षित गरेर मोरङ ट्राफिकले लापसे अभियान संचालन गरेको हो ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले आइतबारदेखि कोशी प्रदेशको १४ वटै जिल्लामा लापसे अभियान संचालनमा ल्याएको हो ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डिआईजी राजेशनाथ बास्तोला र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन इटहरी सुनसरीका प्रमुख एसपी श्यामकुमार महतोले नेपालको पूर्वीनाका काँकरभिट्टामा आइतबार लापसे अभियानको सुभारम्भ गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मनाइरहेको ट्राफिक सप्ताहको छैठो दिन आइतबार विराटनगर बसपार्कमा मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल, वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी इन्पेक्टर सुनिलकुमार श्रेष्ठले लापसे अभियानको सुभारम्भ गरे । आइतबार सवारी साधान चलाउने धेरै चालकको किटमार्फत लापसेको परिक्षण गरिएको छ । व्रेथलाइजरबाट मापसेको परिक्षण गरिन्छ भने किटमार्फत लापसेको परिक्षण गरिन्छ ।

लागुऔषध ओसारपोसार तथा नियगमनको क्षेत्रमा लामो सयमदेखि काम गर्दै आइरहेका सामाजिक अभियानता संदिप चापागाईंले लापसे अभियानको कार्यक्रममा स्वागत मन्तव्य व्यक्ति गर्दै पछिल्लो समय लापसे सेवन गरेर सार्वजनिक सवारी साधान कुदाउने चालकको संख्यामा वृद्धि भईरहेकोले त्यसलाई रोक्न संचालनमा ल्याइएको लापसे अभियान प्रभावकारी हुने बताए ।