कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्वब थापा नियुक्त

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेस–माओवादीसहितको गठबन्धनका तर्फबाट कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एसका ४, जसपाका १ र माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको समेत समर्थनमा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । अपरान्ह ४ बजेर ५१ मिनेटमा  बहुमत नपुगेपछि सभामुखको समर्र्थनमा  प्रदेश प्रमुखकोमा दावी पेश भएको थियो ।

९३ सदस्यीय प्रदेश सभामा सरकार निर्माण गर्न ४७ सांसदको बहुमत चाहिन्छ । गठबन्धन दलसँग बहुमतका लागि १ जना सांसद अपुग हुँदा उनीहरुले सभामुखको सहयोग लिएका छन् । यद्यपी, नेकपा एमालेलेले भने सभामुखको हस्ताक्षर गराउनु असंवैधानिक हुने बताउँदै यसको विरोध गरिरहेको छ ।