प्रतिकार्य योजना सहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिको सम्बन्धीत निकायलाई निर्देशन

असार १९गते । जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीको बैठक सम्पन्न भएको छ ।

सम्पन्न बैठकले प्रतिकार्य योजना सहित विपद्को बेला चाहिने आवश्यक तयारी अवस्थामा राख्न सम्बन्धीत निकायलाई निर्देशन सहितको निर्णय गरेको छ ।

सोमबार दिउसो प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षता तथा सुनसरी जिल्लाका संघीय सांसद र कोशी प्रदेशका सांसदहरु लगायत स्थानीय तहका नगरप्रमुख÷अध्यक्षहरुको विषेश उपस्थितिमा सम्पन्न भएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहले आ–आफ्नो स्थानीय विपद् व्यवस्थापन कोषमा मौज्दात रहेको रकमको विवरण तथा हालसम्म विपद्को क्षेत्रमा खर्च भएको विपद् व्यवस्थापन कोषको रकमसहितको प्रगति विवरण ७ (सात) दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले जिल्लामा विपद्को उच्च जोखिम रहेकोले बाढी, डुबान, सडक दुर्घटना, मानव वन्यजन्तु द्वन्द्व, शीतलहर लगायतको क्षेत्रको उचित व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तहले विपद्सँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरु तथा सरोकारवाला सम्पूर्ण पक्षहरुको सक्रिय सहभागितामा विपद्को जोखिम क्षेत्र, हुन सक्ने क्षतिको पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य गर्ने तथा विपद् पूर्वतयारीका कार्यहरु गर्ने निर्णय गरेको छ ।

जिल्लामा क्रियाशील विपद्का क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संघ संस्थाले विपन्न वर्गका परिवारलाई राहत स्वरुप न्यानो लत्ता कपडा, औषधिजन्य सामग्रीहरु लगायतका राहत सामग्रीहरु एकद्वार प्रणालीमार्फत सम्बन्धित स्थानीय तहको प्रत्यक्ष समन्वयमा जिल्ला प्रशासन कार्यालयको अनुमतिमा मात्र बाड्ने व्यवस्था मिलाउने, सरोकारवाला निकायसँग समन्वय गरी आगामी आर्थिक वर्ष (२०८०÷०८१) का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (म्एच्ए) २०८० अनुमोदन गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले मनसुन शुरु भईसकेकोसँगै बाढी, पहिरो, अतिवृष्टि आई हुनसक्ने क्षतिको न्यूनीकरणका लागि मनसुन प्रतिकार्य कार्यायोजना,२०८० नेपाल रेडक्रस सोसाईटीको सहयोगमा तयार गर्न विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सूचनाहरु निरन्तर उपलब्ध गराउने र हाल नेपालको जलवायु परिवर्तनसँगै जनजीवन प्रभावित हुनसक्ने सम्भावना रहेकोले त्यसबारेमा पनि निर्णय गरेको छ ।

बैठकमा संघीय सासद असोक चौधरी, कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेत, रामप्रसाद मेहता, विजयकुमार राई, रोहित बहादुर कार्की, इसराईल मंसुरी, यशोदा कायस्थ, ममता तमांग मगर, सुनिता कुमारी गच्छदार, सुनिता कुमारी गुरुग राम र सपना दर्जी , जिल्ला समन्वय समिति प्रमुख राजन मेहता, इनरुवाका प्रमुख केदार भण्डारी, बराहक्षेत्रका प्रमुख रमेश कार्की सहितको उपस्थिती रहेको थियो । त्यसैगरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, कोशीका अध्यक्ष ऐयुव अंसारी, भोक्राहा नरसिंहका अध्यक्ष अजमल अजाद, बर्जुका अध्यक्ष जिवछ राय, वन डिभिजन प्रमुख धर्मनाथ यादव, कृषि प्रमुख निलकमल सिंह, धरानका प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराई, प्रहरी उपरीक्षक प्रमुख प्रसाद ढकाल सहितको उपस्थिती रहेको थियो ।