प्रवासी बाँतर सरदार युवा एकता समाजको छैठौ वार्षिक साधारणसभा सम्पन्न

नेपाल भरीका बातर सरदार जातिका उत्थानका लागि सन् २०१८ जुलाई १ मा स्थापना भएको प्रवासी बाँतर सरदार युवा एकता समाज उत्थान केन्द्रको छैठौ वार्षिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार विराटनगर स्थित कञ्चनजंघा पार्टी प्यालेसमा सो कार्यक्रमको आयोजना गरी नेपालको विभिन्न जिल्लाबाट आएको बाँतर सरदार जातिका मानिसहरुले सहभागीता जनाएका थिए ।

आयोजना गरीएको उक्त कार्यक्रममा प्रवासी बाँतर सरदार युवा एकता समाज उत्थान केन्द्रको कोषाध्यक्ष रामकुमार सरदारले बाँतर सरदार जातिको भेषभुषा, रहनसहन आदिलाई राष्ट्रियकरण गर्न तथा नेपाल सरकारबाट हरेक सेवा सुविधाहरु पाउनु पर्ने भनी कार्यक्रमको सम्बोधनको क्रममा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रमका अर्का सहभागी सदस्य विरेन्द्र सरदारले केन्द्रले हाल सम्म गरेको गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । सदस्य सरदारका अनुसार २०७५ सालमा कटहरी वडा नं. ६ का दुई जना जेहेन्दार विधार्थीहरुलाई नगदर रु. १२ हजार छात्रवृत्ति प्रदान गरेको, त्यस्तै सप्तरीका फरक क्षमता भएको सुभम सरदार पढ्नका लागि सहयोग होस् भनी नगद रु. ९ हजार सहयोग गरेको जानकारी गराएका थिए । यसैगरी विभिन्न कामहरु केन्द्रले गर्दै आएको र पछि पनि यस्ताखाले प्रोत्साहन लगायत अन्य कार्यक्रमहरु जारी राख्ने आफ्नो मनतव्यको क्रममा बचनबद्धता व्यक्त गर्नुभएको थियो ।

हाल नेपाल भरी बाँतर सरदार जातिको कुल जनसंख्या २०७८ सालको जनगणना अनुसार ६१,६८७ अर्थात कुल जनसंख्याको ०.२ प्रतिशत रहेको जनाएको छ । जसमध्ये सबभन्दा बढी जनसंख्या मोरङ जिल्लामा रहेको छ ।

कार्यक्रममा प्रवासी बाँतर सरदार युवा एकता समाज उत्थान केन्द्रको भिडियो कन्फ्रेन्सबाट वर्तमान अध्यक्ष रञ्जित कुमार सरदारले सहभागीता जनाएका थिए भने कार्यक्रममा संस्थापक अध्यक्ष मोहन सरदार, कोषाध्यक्ष रामकुमार सरदार, संयोजक श्याम कुमार सरदार, सदस्य विरेन्द्र कुमार सरदार लगायत समितिका विभिन्न पदाधिकारीहरु तथा केन्द्रसँग आबद्ध रहेकाहरुको उल्लेख्नीय सहभागीता रहेको थियो ।