मोरङको कटहरीमा पाहुना आएकी महिलाको शव सिंघिया खोलामा भेटियो

मोरङको कटहरी गाउँपालिका-२ मा पाहुना आएकी १ जना महिलाको शव मंगलबार सिंघिया खोलामा भेटिएको छ ।

सुनसरीको गढी गाउँपालिका-३ छिटाहा घर भएकी ३५ वर्षीया ठूलीदेवी चौधरीलाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका-८ स्थित सिंघिया खोलामा घोप्टो परेको अवस्थामा बिहान ११:१० बजेतिर शव फेला परेको हो ।

उनी कटहरी-२ आदर्श टोलमा रहेको नन्द श्यामकुमारी चौधरीको घरमा सोमबार पाहुना आएकी थिइन्। ‘नन्दको घरमा राति १२ बजेसम्म गफगाफ गरेर बसेको र त्यसपछि सबै जना सुतेको खुलेको छ। डेढ घण्टापछि हेर्दा सुतेको ठाउँमा भाउजूलाई नदेखेपछि नन्द श्यामकुमारीले आफन्तलाई खबर गरेको पाइयो,’ डीएसपी दाहालले भने, ‘आफ्नो घर पनि नगएको पाइएपछि आफन्तले खोजी सुरु गरेछन्। खोलामा डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाई घटनाको जानकारी आएको हो।’ शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ।