बिरगंज युनाइटेड भलुवा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा

जेष्ठ १३ गते । सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी नवौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको आज शनिबार भएको तेस्रो प्रि–क्वाटर फाइनल खेलमा बिरगंज युनाइटेड क्लब पर्साले युनाइटेड खर्साङ फुटबल क्लब भारतलाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगाउदैं क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय ८० मिनेटको खेलको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको खेलको ४१ औं मिनेटमा बिरगंज युनाइटेडका खेलाडी बिज्ञान चौधरीले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

खेलको लगतै ४२ औं मिनेटमा बिरगंज युनाइटेडका खेलाडी सागर चौधरीले १ गोल गर्दै २–० गोल अन्तरले अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा बिरगंज युनाइटेड पर्साका खेलाडी कृपा चौधरीले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराएका थिए ।

खेलको उत्कृष्ट खेलाडी बिरगंज युनाइटेड पर्साका खेलाडी कृपा चौधरी घोषित भएकाउनलाई सुनसरी–मोरङ सिंचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वासले नगद ५ हजार तथा पदक प्रदान गरे ।
भोलि आइतबारको अन्तिम प्रि–क्वाटर फाइनल खेल प्लानीङ ब्याइज क्लब काठमाडौं र आयोजक क्लब गोल्डेन स्टार युथ क्लब भलुवाका बिच हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले जनाएका छन् ।

बिजेता टिमले उपाधी सहित नगद ४ लाख सिल्ड मेडल प्राप्त गर्ने छ । उपबिजेता टिमले नगद २ लाख सहित सिल्ड मेडल प्राप्त गर्ने छ । विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।