दुहबी नगरपालिकाद्वारा कृषकलाई उन्नत जातको धानको बीउ बितरण

जेष्ठ ८ गते । सुनसरीको दुहबी नगरपालिकाले कृषकहरुलाई उन्नत जातको धान उत्पादन गर्न बीउ बितरण शुरु गरेको छ ।

दुहबीका १२ वटै वडाका किसानहरुलाई उन्नत जातको धान उत्पादन गर्न धान वीउ वितरण गरिएको दुहबी नगरपालिका कृषि शाखाका प्रमुख कप्लेश्वर यादवले बताउनुभयो ।

१८ मेट्रिकटन बीउ बितरण गरीसक्ने नगरपालिकाका कृषि प्राविधिक अजय गौतमले बताए ।
गत वर्ष पनि वर्षायाम सँगै धानको बीउ राख्ने बेलामा नगरपालिकाले उन्नत जातको धानको बीउ बितरण गरेको नगरपालिकाले जनाएको छ ।

दुहबी नगरपालिकाका नगरप्रमुख वेदनारायण गच्छदारले धानबाली नगरको प्रमुख बाली भएकाले धान उत्पादनमा प्रोत्साहन गर्न र नगरपालिकालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन बीउ बितरण गरेको बताए ।

गत वर्ष कृषकलाई उन्नत जातको धानको बीउ बितरण गर्दा नगरमा पच्चीस प्रतिशत भन्दा बढी धान उत्पादन बढेको र धानको उत्पादन बढाउन यस पटक पनि नगरपालिकाले बीउको लागि छुट्टै बजेट व्यावस्थापन गरेको नगरप्रमुख गच्छदारले बताए । बीउमा ५० प्रतिशत कृषक र ५० प्रतिशत नगरपालिकाको योगदान रहेको छ ।

उक्त धान वीउ नगरक्षेत्रका तीन सयभन्दा बढी कृषक र चार वटा कृषक समूहलाई उन्नत जातको राधा १२, कान्छी, स्वर्णा सव–१, रञ्जित जातको धानको वीउ वितरण गरिरहेको कृषि शाखाले जनाएको छ ।

धेरैले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा नगरपालिकाले अनुदानमा उन्नत जातको धानको विउ वितरण गरेपछि उत्पादन बढ्ने यहाँका किसानले अपेक्षा गरेका छन् ।