नेपाल प्रेस युनियन सुनसरीद्वारा ११ जना पत्रकार पुरस्कृत

जेष्ठ ७ गते । नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनमा ११ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा शनिवार राष्ट्रिय पुरस्कार सहित ११ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

गोविन्द खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त तथा राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनकी पूर्व उपाध्यक्ष अनिता विन्दुलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

समारोहमा प्रमुख अतिथि पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दोसल्ला ओढाउँदै उनीहरूलाई ७५÷७५ हजार रुपैंया सहित सम्मान पत्र प्रदान गरे । उक्त पुरस्कार उद्यमी शिव घिमिरेले माता पिता गोविन्द खेमकुमारीको स्मृतिमा स्थापना गरेका हुन् ।

समाज सुधारक, पूर्वका व्यासको रूपमा मानिएका स्वर्गीय पण्डित छविलाल पोखरेलको स्मृतिमा उनका छोराद्वय राजेन्द्र पोखरेल र नारायण पोखरेलद्वारा स्थापित १० हजार रासीको छविलाल बलमाया स्मृति स्वतन्त्र पत्रकारिता पुरस्कारबाट ४ पत्रकार पुरस्कृत भएका छन् ।

बर्सेनि प्रदान गरिने उक्त पुरस्कार कोरोना महामारीका कारण रोकिएको थियो । यसपालि एकै साथ ४ वर्षको पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुने पत्रकारहरूमा धरानका विनय प्रधान २०७६ साल, इनरुवाका कृष्ण भट्टराई २०७७, रेडियो नेपाल सुनसरी संबाददाता आशिष कुमार यादव २०७८ र धरानका पारस राई २०७९ रहेका छन् ।

नेपाल प्रेस युनियनका संस्थापक गिरिराज आचार्यको सम्मानमा प्रेस युनियन सुनसरीले स्थापना गरेको १० हजार रुपैंया राशिको गिरिराज आचार्य सृजनशील पुरस्कार इटहरीका पत्रकार अर्जुन सुवेदीलाई प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीका प्रथम अध्यक्ष पदम केशर कार्कीको स्मृति प्रेस युनियन सुनसरीले स्थापना गरेको १० हजार रुपैंयाको स्वर्गीय पदम केशर कार्की स्मृति पत्रकारिता पुरस्कार इटहरीकी कला चापागाईँलाई प्रदान गरिएको छ ।

प्रेस युनियन सुनसरीका संस्थापक सदस्य स्वर्गीय याम प्रधानको स्मृतिमा प्रेस युनियन सुनसरीले स्थापना गरेको १० हजार रुपयाको याम प्रधान स्मृति पत्रकारिता पुरस्कार वराहक्षेत्रका पत्रकार, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राईलाई प्रदान गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीद्वारा स्थापित १० हजार रुपयाको सृजनशील पत्रकारिता पुरस्कार इनरुवाका टोमराज मेहतालाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारका लागि पत्रकार चयन गर्न प्रेस युनियन सुनसरीले वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौला, प्रेस युनियन कोशी प्रदेशका महासचिव सञ्जीव वाग्ले सदस्य र युनियनका अध्यक्ष पवन अधिकारी सदस्य सचिव रहेका थिए ।