भारतीय समुहको अपहरणमा परेका दुहबीका एक बालकको सकुशल उद्धार

वैशाख २२ गते । भारतीय समूहले अपहरण गरेका एक बालकलाई सुनसरी प्रहरीले सकुशल उद्धार गरेको छ ।


४ दिनअघि सुनसरीको दुहबी नगरपालिका १२ बुगडरीमा गाई फार्म खोली बसेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए ।

प्रहरीले भारत जिल्ला समस्तिपुर एकडेरा एरियाबाट बालकलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब परिक्षक राजकुमार राईले बताए । अपहरणमा परेका बालकलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो ।

अपहरणमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार अपहरणमा संलग्न व्यक्तिको पहिचान भइसकेको छ ।

भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले ती बालकलाई ललाई–फकाई नास्ता खान जाऊ भनी अपहरण गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बालक अपहरण गरेको भोलिपल्ट बाबु बिन्देश्वरको मोबाइलमा वाट्सअप मार्फत भारतीय नम्बरबाट फोन गरी २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।