गढीका अध्यक्षद्वारा नियम विपरीत मोटरसाइकल खरिद, भुक्तानी रोकिए पछि कर्मचारीमाथि अभद्र व्यवहार

इटहरी/ गढी गाउँपालिकाका अध्यक्ष आसनारायण चौधरीले पालिकाको कर्मचारीमाथि अभद्र व्यवहार गरेका छन् ।
पालिकाको जिन्सी शाखा प्रमुख हरेराम शाहलाई कागजपत्र मिलाउन दबाब दिँदा नमाने पछि अध्यक्षले अभद्र व्यवहार गरेको शाहले बताएका हुन ।
चौधरीले पालिकाको बजेट शीर्षकमा नभएको एक थान सुजुकी कम्पनीको मोटरसाइकल र एक थान स्कुटर २०७९ चैत्र मसान्तमा सुमित अटो ट्रेडर्सको नामबाट पालिकामा नियम विपरीत खरिद गरेको पाइएको छ । विना सम्झौता , विना कोटेसन र खरिद आदेश समेत नभएकाले विक्रेता सोरुम सुमित अटो ट्रेडर्सको नामबाट पालिकामा आएको विलको भुक्तानी रोकिएपछि चौधरीले आवश्यक प्रक्रिया मिलाउन पालिकाको जिन्सी शाखा प्रमुख हरेराम शाहलाई आदेश दिए  ।
अध्यक्ष चौधरीले कागजी प्रक्रिया मिलाउन दबाब दिए पनि  खरिद सम्बन्धी जिन्सी शाखामा केही जानकारी नभएकाे र नियम विपरीत काम गर्न नसकिने बताए पछि शाहमाथि अभद्र व्यवहार भएको शाहले जानकारी दिएका छन् । आफ्नो आदेश नमानेको भन्दै चौधरीले मङ्गलवार ४ बजे आसपास शाहको कठालोमा समातेर कार्यकक्षबाट बाहिर निकालेको शाहले बताएका छन् । शाहका अनुसार चौधरीले शाहलाई गालीगलौज गरी शाहलाई वडा कार्यालयमा सरुवा गरिदिएको भन्दै कार्यालयमा नआउनु भनी धम्की समेत दिएका थिए ।
यस विषमा पालिकाका लेखा अधिकृत दिल बहादुर खड्कासँग कुरा गर्दा उनले पालिकासँग कुनै सम्झौता नभएको कारणले विल आफूले नबुझेको बताएका छन् । सो सम्बन्धी बजेट शीर्षक नभएको र आवश्यक प्रक्रिया समेत नपुगेकाले विल जिन्सी शाखामा पठाइएको जनाएका छन् ।
खरिद गरिएको मोटरसाइकल र स्कुटर भने गढी गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष कुशेश्वर यादव र ५ नम्बर वडा अध्यक्ष चन्द्र कुमार सरदारले प्रयोग गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सुमित अटो ट्रेडर्स स्वयम पालिका अध्यक्षकै भएको जनाइएको छ । यस विषमा अध्यक्ष चौधरीसँग कुरा गर्दा आफू यस विषयमा बोल्न नचाहेको बताएका छन् । सञ्चारलय