दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने ः मन्त्री मोदी

माघ १३ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले दुई महिना भित्रैमा निजामती सेवा ऐन संसदमा टेवल गर्ने बताउनु भएको छ ।

विराटनगरमा आज शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नु कारण बारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको बताउनु भएको हो ।
मन्त्री मोदीले यति लामो समयसम्म ऐन ल्याउन नसक्नुको कारण बारे अध्ययनसँगै राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरुसँग समेत आफूले जिज्ञासा राखेको बताउनुभयो ।

उहाँले ऐनले बाँध्ने अवस्था नहुँदा भनसुनको सरुवा, रोजिएको स्थानको सरुवा, निमित्तको भरमा कार्यालय सञ्चालनको स्थिति रहेको बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदमा नियुक्त भएपछि मोदी पहिलो पटक गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र मोरङ आएका हुन् । मोरङमा रहँदा उनले निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद ज्ञापन गर्ने तथा कर्मचारी अधिकारीलाई आवश्यक निर्देशन दिने कार्यक्रम पनि रहेको छ ।