सुनसरीमा कृत्रिम घटना अभ्यास

पुस ३० गते । सुनसरीको रामधुनी नगरपालिका पिप्रा खेल मैदानमा भूकम्प र आगलागि जस्त विविन्न विपतको घटनाले पार्ने र त्यसबाट बच्चका लागि गरिने उपाय सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न भएको छ ।

शनिबार जिल्ला विपत व्यवस्थापन समिति सुनसरीको आयोजना रामधुनी र दुहबी नगरपालिका तथा गढी गाउँपालिकाको समन्वयमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो ।
सुनसरीका विभिन्न स्थानमा सुखा मौसमका साथै जाडोको बेला बालिने आगो कारण भईरहेको आगलागी र त्यसपछि हुने विपतको असर, प्रभाव, नोक्सानी तथा उद्धार, उपचार र राहतको प्रकृया बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।


उक्त कृत्रिम अभ्यासमा सरोकारवालाहरु आ–आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी र जिल्ला विपत व्यवस्थापन समितिले राहत वितरण गरेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको राहत प्याकेजसंगै प्राथमिक उपचार सहित थप उपचारका लागि अस्पताल पठाउने अभ्यास गरेको थियो भने नेपाल प्रहरी र नेपाल सेनाले आ–आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।
जिल्ला विपत व्यवस्थापन समितिले एक दिवसीय कृत्रिम घटना अभ्यास कार्यक्रममा केहि घर निर्माण गरी भूकम्प र केहि फुसको घर बनाएर विद्युत सर्ट भएर भएको आगलागिको घटना गराएर त्यसको असर, क्षती, घाइतेको उद्दार, उपचार र मृतक खोज तथा शव संकलन लगायतको अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।


प्र.जि.अ. यादवका अनुसार विपतका घटना पछि हुने मानविय र भौतिक क्षति त्यसपछिको उद्दार र राहतका लागि सरोकारवालाहरुको भूमिका निर्वाह गरेको सवालको बारेमा समेत अभ्यास गरिएको जनाकारी दिनुभयो ।
त्यसैगरी नेपाली सेना र सशस्त्र प्रहरीले विपतको बेला गरिने उद्धार तथा पहल प्रयास र तयारीको बारेमा सरोकारवालाहरुलाई २० वटा स्टल राखेरै जानकारी गराएको थियो । कार्यक्रममा गरिएको कृत्रिम आगलागीको घटनामा आधा दर्जन घरहरुमा क्षति पुगेको थियो भने त्यस घटनामा दुई जनाको हाताहाती र केहि घाइते समेत भएको अवस्थालाई चित्रण गर्दै घटना स्थलबाट तत्काल उद्दार गर्ने र थप क्षति हुन नदिनका लागि दुहबी र रामधुनी नगरपालिकाको बारुण यन्त्र समेत परिचालन गरिएको थियो ।


उक्त कृत्रिम अभ्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंङ माझी र ओम प्रसाद भट्टराई, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी उपप्रमुख तारा थापा, दुहबी नगरप्रमुख वेद नारायण गच्छदार उपप्रमुख मेनुका पोखरेल (खतिवडा), गढी गाउँपालिकाको उपाध्यक्ष अनिता कुमारी साह, श्री कृष्ण दलगण इटहरीका प्रमुख अमित लामा, सशस्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाई, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, गैसस सुनसरी अध्यक्ष मेघराज न्यौपाने, सेभ द अर्थ का अध्यक्ष पुष्प भट्टराई, स्थानीय तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरु लगायत सञ्चारकर्मीहरु सहितको उपस्थिती रहेको थियो ।