उच्च पदस्थलाई चाकरी गर्ने भन्दा प्रश्न गर्ने पत्रकारको खाँचो छ ः मन्त्री कार्की

पौष ३ गते । नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको १३ औँ साधारण सभालाई सम्बोधन गर्दै प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नेता र उच्च पदस्थलाई चाकरी गर्ने भन्दा पनि प्रश्न गर्ने पत्रकारको खाँचो भएको बताए ।


शनिवार इटहरीको लायन्स क्लबमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले कलमको मर्यादा कायम राख्नुपर्ने बताएका छन् ।
बन्दुकको तागत भन्दा क्यामरा र कलमको तागत बलियो हुने बताउँदै कार्कीले कमलको टुप्पोले समाज र राजनीतिलाई सही दिशानिर्देश गर्न सक्ने धारणा राखे । पत्रकारिता रोजगारीको लागि मात्र नभई साहसको लागि गर्न आग्रह गरे ।
खबरदारी बफादारी र इमान्दारीता देखाउन खाँचो छ । नेतालाई भ्रष्टाचारी बनाउने कि सदाचारी बनाउने पत्रकारको कलममा निर्भर छ ।
विशिष्ट अतिथि महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारितालाई मर्यादित र समयानुकूल बनाउनुपर्ने र महासङ्घ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले पुरानो परम्परागत पत्रकारिता र औपचारिक अभ्यासलाई बदल्नुपर्ने बताए ।


नेपाल पत्रकार महासङ्घको १३ औँ साधारण सभा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
खुल्ला सत्र र बन्द सत्रका विभाजित कार्यक्रममा २ सय बढी साधारण सदस्यको उपस्थिति रहेको बन्द सत्रमा धारणा राख्ने अधिकांश सदस्यहरूले वर्तमान नेतृत्वको आलोचना गरेका थिए । पत्रकारको हक हितमा महासङ्घले ठोस कदम अगाडी बढाउन नसकेको उनीहरूले बताए ।
महासङ्घ पत्रकारहरूको साझा बन्न नसकेको बताउँदै सदस्यहरूले शुद्धीकरणको मुद्दा उठाए । सदस्यहरू सुविद गुरागाईँ, पर्शुराम बाह्रकोटी (विनय), कृष्ण भट्टराई, भरतराज शर्मा, अर्जुन सुवेदी र नवराज विष्टले शुद्धीकरणको लागि विशेष प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव उपर छलफल गरेको अध्यक्ष मण्डलले सदस्यता छानबिन गरी शुद्धीकरण गर्न निर्देशन दिएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष हर्ष सुब्बाले महासङ्घ सुनसरीको साधारण सभा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको बताए । महासङ्घ जिल्ला सचिवले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गरेका थिए । दुवै प्रतिवेदनमा उठेका प्रश्नलाई संशोधन गर्ने लिखित प्रतिबद्धता सहित सर्वसम्मतिले पारित भएको थियो ।