सुनसरी काँग्रेसमा मनोनीत जिल्ला सदस्यहरू बर्खास्त

मङ्सिर २६ गते । नेपाली काँग्रेस जिल्ला समिति सुनसरीले मनोनीत जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई बर्खास्त गरेको छ ।

मङ्सिर २५ गते बसेको जिल्ला समितिको बैठकले यसअघि मनोनयनमा परेका जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन पूर्व जिल्ला सभापति केदार भण्डारीले सदस्य तथा विभाग प्रमुखहरू मनोनीत गरेका थिए । पार्टीलाई चलायमान बनाउन जिम्मेवार विहीन भएका कार्यकर्तालाई मनोनीत गरेको उनले बताएका थिए । पार्टीको विधानको परिच्छेद ३ को १२ (५) (ख) २ र (७) (ज) को अधिकार अनुसार जिल्ला सदस्य, विभाग प्रमुख र संयोजकको पद विघटन गरिएको भण्डारीले जनाएका छन् ।

त्यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गर्ने र गठबन्धनका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने निर्देशन दिएको छ ।

सचिव वीरेन्द्र कुमार शाह र माधव घिसिङले हस्ताक्षर गरेको पत्रमा पुस ३ गते भित्र वडा समितिले र ५ गते पालिका, ७ गते प्रदेशसभा क्षेत्रीय समिति र १० गते क्षेत्रीय समितिको बैठक बसी १२ गते भित्र जिल्ला समितिमा बुझाउनुपर्ने बताइएको छ ।

१४ औँ महाधिवेशनमा गठन हुन बाँकी महासमितिको निर्वाचन पुस मसान्त भित्र सम्पन्न गर्न समेत पत्राचार गरिएको छ ।