ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ । उहाँ ११२ मतको अन्तरले विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ ।

उहाँ २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसक्नुभएको छ ।

मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै विजय हासिल गर्नुभएको हो । विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रियरहनु भएका नेता कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।