नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा हुने उद्घाटन समारोहको मञ्चमा मिडिया सेन्टर स्थापना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहको मञ्चको दायाँतर्फ मिडिया सेन्टर स्थापना गरिएको छ।
महाधिवेशनका गतिविधि मिडिया सेन्टरबाट नियमित ब्रिफिङ गरिनेछ। उद्घाटन समारोहलाई प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमका लागि इन्टरनेट तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि सञ्चारकर्मीलाई आवश्यक स्रोत-साधनसहित मिडिया सेन्टरलाई व्यवस्थित बनाइएको छ।
महाधिवेशनको समाचार संकलन तथा रिपोर्टिङका लागि पत्रकारहरूलाई छुट्टै प्रेस पासको व्यवस्था गरिएको छ। मिडिया सेन्टरबाटै आइतबारदेखि सञ्चारकर्मीहरूलाई प्रेस पास उपलब्ध गराइनेछ।
महाधिवेशनका हरेक गतिविधिलाई सञ्चारमाध्यमसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउन मिडिया सेन्टर तयार रहेको मिडिया सेन्टर प्रमुख जिवन भण्डारीले जानकारी दिए ।