कोशीमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट

 सम्भावित भारी वर्षा तथा विपद्का घटनालाई लक्षित गर्दै कोशी प्रदेशमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट सक्रिय गरिएको छ ।

कोशी प्रदेशमा विपद्सम्बन्धी सूचना संकलन, विश्लेषण तथा सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउन कमाण्ड पोस्ट सक्रिय गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख निर्मल भट्टराईको अध्यक्षतामा बसेको कमाण्ड पोस्टको बैठकले असोज ९ गतेदेखि १२ गतेसम्म सम्भावित वर्षा तथा विपद्का घटनालाई मध्यनजर गर्दै सूचना प्रणाली थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशका विभिन्न सरकारी तथा सुरक्षा निकायबाट विपद्सम्बन्धी सूचना नियमित रूपमा संकलन र विश्लेषण गर्ने निर्णय गरेको छ । संकलित सूचनालाई सम्बन्धित निकायसँग तत्काल आदान–प्रदान गरी आवश्यक जानकारी तथा प्रतिवेदन उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

विपद्को जोखिम स्थानीय तहसम्म फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला तथा पालिका तहमा समेत नियमित सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदनको व्यवस्था गर्न सम्बन्धित निकायलाई कमाण्ड पोस्ट निर्माण तथा सञ्चालनका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेशस्तरको कमाण्ड पोस्टलाई पूर्ण रूपमा सक्रिय राख्दै विपद्सम्बन्धी सूचना निरन्तर आदान–प्रदान गर्ने र प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई नियमित रूपमा जानकारी गराउने निर्णयसमेत भएको छ ।

बैठकमा नेपाली सेना पूर्वी पृतना मुख्यालय इटहरीका प्रमुख सेनानी रविन थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगु, सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र खनाल तथा मन्त्रालयका शाखा अधिकृत सदानन्द भट्टराई सहभागी थिए ।