भदौ २९ गते । चन्द्रमाको आराधना दर्शन गरेर अर्ग दिई गणेश चतुर्थी अर्थात (चौरचन पर्व) समापन भएको छ ।

आज सोमबार साझा उदाउद्दै गरेको चन्द्रमालाई अर्ग दिई चौरचन पर्व समापन भएको हो ।
चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने पर्वको घर मूली महिला दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर अर्ग दिई समापन भएको दुहबी ६ कि ब्रतालु सरिता यादवले बताइन् ।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा, पिरुकीया र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ ।


पर्वमा घर मूली महिला ब्रतालुले एक दिन पूर्व नै व्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्त्विक भोजन गर्ने गर्दछन् ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन र चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलित गर्दै घर मूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर व्रत समापन गर्ने परम्परा रहिआएको छ ।
हिन्दू मैथिली परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मैथिली पण्डित जितेन्द्र ठाकुरले बताए ।

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्रदर्शनले झूठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शितलता प्राप्त हुने जनविश्वास रहिआएको छ । द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ’बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ ।

