काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरेसँगै पार्टीभित्रको आन्तरिक समीकरणमा फेरबदलको संकेत देखिएको छ। तत्कालीन सभापति शेरबहादुर देउवा समूहमा रहेका २८ केन्द्रीय सदस्यमध्ये २७ जना देउवा समूहबाट अलग हुँदै हालका सभापति गगन कुमार थापा नेतृत्वको ‘मूल कांग्रेस’मा जाने सहमति नजिक पुगेका छन्।

पार्टी एकताको पक्षमा रहेका ती नेताहरूले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै दुवै पक्षका नेतृत्व तथा नेताहरूलाई व्यक्तिगत आग्रह–पूर्वाग्रह र ‘इगो’ त्यागेर मुलुक र लोकतन्त्रको हितमा कांग्रेसलाई एकताबद्ध बनाउन आह्वान गरेका छन्।

पार्टीभित्रको एकता प्रयासमा बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेश सभापति जीवनबहादुर शाहीले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्।
असन्तुष्ट नेताहरूलाई सकेसम्म एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताइए पनि निवर्तमान सहमहामन्त्री डिना उपाध्यायसहित २७ जना देउवा समूह छाडेर पार्टीको ‘मूलधार’तर्फ आउने तयारीमा रहेको स्रोतको दाबी छ। नेता मीन विश्वकर्माबाहेक अधिकांश नेताहरू गगन–विश्व समूहसँग नजिकिँदै गएको बताइएको छ।
संयुक्त वक्तव्यमा १५औँ महाधिवेशनमा कांग्रेसका सम्पूर्ण सदस्यले सहज र निष्पक्ष रूपमा सहभागी हुनसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। साथै, पार्टीका लागि सबल नेतृत्व चयन गर्दै स्पष्ट राजनीतिक दिशा तय गर्न सबै एक भएर अघि बढ्नुपर्ने नेताहरूको धारणा छ।
कांग्रेस लामो समयदेखि आन्तरिक कलहमा रुमलिँदा त्यसको प्रत्यक्ष असर समग्र राष्ट्रिय राजनीतिमा परिरहेको उनीहरूको निष्कर्ष छ। विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउने गतिविधि राष्ट्र, लोकतन्त्र र स्वयं कांग्रेसको हितमा नहुने उनीहरूले स्पष्ट पारेका छन्।
नेताहरूले व्यक्तिगत स्वार्थ, आग्रह र अहंकारभन्दा माथि उठेर पार्टीको बृहत् हितलाई केन्द्रमा राख्न नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरूले सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाउन निर्णायक वार्ता तत्काल प्रारम्भ गर्नसमेत नेतृत्वमाथि दबाब दिएका छन्।
संयुक्त वक्तव्य जारी गरेका कांग्रेस नेताहरूले पार्टी सभापति थापालाई भेटेरसमेत पार्टी एकताका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्। महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला देउवा समूहका प्रभावशाली नेताहरू नै समूह परिवर्तनको तयारीमा देखिएपछि कांग्रेसभित्रको आगामी राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ।

