सप्तकोशी नदी किनारबाट त्रिकुटीका नट-बोल्ट चोरी गर्दै गर्दा एक जना पक्राउ

सुनसरीको बराहक्षेत्र स्थित सप्तकोशी नदी किनारबाट त्रिकुटीका नट-बोल्ट चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई रंगेहात पक्राउ गरेको छ।
साउन २८ गते करिब ६:०० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईको कमाण्डमा खटिएको गस्ती टोलीले बराहक्षेत्र नगरपालिका-०७ का २९ वर्षीय सुशान्त तामाङलाई पक्राउ गरेको हो।
​बराहक्षेत्र-०७ स्थित सप्तकोशी नदी किनारमा रहेका त्रिकुटीका नट-बोल्टहरू चोरी गरी बोरामा हाल्दै गरेको अवस्थामा प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको थियो। निजको साथबाट बोरा सहित २३ केजी ४५० ग्राम (बोरा बाहेक २३ केजी ३०० ग्राम) विभिन्न साइजका नट-बोल्टहरू बरामद गरिएको छ।
​इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट करिब १० किलोमिटर उत्तरतर्फ रहेको उक्त घट्नास्थलबाट बरामद सामानसहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।