कोशी कटान क्षेत्रमा प्रदर्शनको क्रममा आगजानी

सुनसरीको देवानगन्ज गाउँपालिका–३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा प्रदर्शनको क्रममा अराजक समूहले आगजानी गरेको छ।

प्रदर्शनका नाममा आएको अराजक समूहले कोशी कटान बजारका व्यावसायिक पसलहरूमा तोडफोड र आगजनी गरेको हो ।

समूहले स्थानीय व्यवसायीहरूका पसलहरूलाई लक्षित गरी क्षति पुर्‍याएको बताइएको छ । आगजनी र तोडफोडबाट पसलभित्र रहेका सामान तथा भौतिक संरचना क्षति भएको छ।

स्थानीय प्रत्यक्षदर्शी सुरेन मण्डलका अनुसार उक्त क्षेत्रमा रहेका केही व्यवसायीका पसलहरूलाई लक्षित गरी एक समूहले आगजनी तथा लुटपाट गरेको बताएका छन् ।

यस आगजनी ,आक्रमण र तोडफोडबाट स्थानीय सरजुग यादव, अनिल (महत्मान), उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठ लगायतका पसलहरूमा ठूलो क्षति पुगेको छ।

यसअघि दुई समुदायबीचको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सो झडपमा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका थिए।

उक्त घटनाको विरोधमा सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ। आन्दोलनका नाममा अराजक गतिविधि बढेपछि स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।