सक्षम छोरी कार्यक्रम अन्तर्गत दुहबी नगरपालिका द्वारा दलित विद्यार्थीलाई शैक्षिक सामग्री

असार ३२ गते । सुनसरी󠄪को दुहबी नगरपालिकाले “सक्षम छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत मुसहर दलित समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

आज बिहिबार कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बेदनारायण गच्छादारले दलित तथा मुसहर समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले सक्षम छोरी कार्यक्रम सुरु गरिएको बताए ।

उनले शिक्षा नै गरिबी, अशिक्षा र सामाजिक विभेद अन्त्य गर्ने सबैभन्दा बलियो माध्यम भएकाले कुनै पनि बालबालिका आर्थिक अभावका कारण विद्यालयबाट वञ्चित हुन नहुनेमा जोड दिए ।

नगरपालिकाका अनुसार सक्षम छोरी कार्यक्रमले आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको विद्यालयमा पहुँच बढाउनुका साथै नियमित उपस्थितिमा सुधार, विद्यालय छाड्ने दर घटाउने र गुणस्तरीय शिक्षाप्रति आकर्षण बढाउने विश्वास लिइएको छ ।

नगर प्रमुख गच्छादारले आर्थिक वर्ष २०८३÷८४ देखि सञ्चालनमा ल्याएको यो कार्यक्रम आगामी आर्थिक वर्षहरूमा अझ व्यापक बनाउँदै थप विद्यार्थीलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्दै मुसहर तथा दलित समुदायका सबै अभिभावकलाई आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा विद्यालय पठाउन आग्रह गरे ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले विद्यार्थीहरूलाई ३६ जोर जुत्ता, ७२ थान विद्यालय पोशाक, ४ सय १२ थान विद्यालय ब्याग, ४१२ थान पेन्सिल तथा एक सय थान कलम वितरण गरेका हुन् ।

कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न खटिएका सहजकर्ताहरूलाई ५ थान साइकल समेत हस्तान्तरण गरिएको छ ।

सबै सिक्षित भएमा परिवार,समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्छ भन्ने विश्वासका आधारमा दलित विद्यार्थी लक्षित योजना ल्याएको दुहबी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुबर्ण घिमिरेले जानकारी दिनुभयो । यसले सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख प्रसासकिय अधिकृत घिमिरेको भनाई रहेको छ ।

उपप्रमुख मेनुका खतिवडाले छोरी शिक्षा, समान अवसर र सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रम महत्वपूर्ण अभियान भएको उल्लेख गर्दै स्थानीय तह, विद्यालय र अभिभावकबीचको सहकार्यबाट मात्र यसको उद्देश्य सफल हुने बताइन् ।

सरकारी विद्यालयमा पढ्ने दलित समुदायका विद्यार्थीलाई विपन्न विद्यार्थी शैक्षिक सामग्री वितरण कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको नगर प्रमुख बेदनारायण गच्छादारले बताउनुभयो ।