दुहवी नगरपालिका वडा ६ वासीको विकास योजनाबारे सुझाव संकलन गरिएको छ ।

सुनसरीको दुहवी नगरपालिका वडा नं. ६ का स्थानीयवासीहरूले सडक तथा नाला निर्माण भए पनि अधिकांश नालामा ढकन नहुँदा फोहोर व्यवस्थापनमा समस्या सिर्जना हुनुका साथै वातावरणीय प्रदूषण बढिरहेको भन्दै यसको शीघ्र व्यवस्थापन गर्न माग गरेका छन्।


आइतबार आयोजित वडा स्तरीय छलफल कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वडा विकासका विभिन्न पूर्वाधार निर्माणका कामहरू प्रभावकारी रूपमा अघि बढे पनि नालाको ढकन व्यवस्थापनलाई अब प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले खुला नालाका कारण दुर्घटनाको जोखिम समेत बढेको बताएका थिए।

कार्यक्रममा बोल्दै घनश्याम हलुवाईले वडावासीबाट प्राप्त सुझाव र आवश्यकतालाई आधार बनाएर आगामी योजनाहरू कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले नालाको ढकन व्यवस्थापनका साथै वडाभित्र जडान गरिएका सोलार बत्तीहरूलाई पनि व्यवस्थित र प्रभावकारी बनाउने जानकारी दिए।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि दुहवी नगरपालिका ले प्रत्येक वडाका लागि एक करोड रुपैयाँ बजेट सिलिङ निर्धारण गरेपछि वडा नं. ६ मा योजना तर्जुमा तथा सुझाव संकलनका उद्देश्यले उक्त छलफल कार्यक्रम आयोजना गरिएको हो।
छलफलमा सहभागी स्थानीयवासीहरूले सडक स्तरोन्नति, ढल तथा नाला व्यवस्थापन, सडक बत्ती, सरसफाइ, खानेपानी तथा अन्य विकास निर्माणसँग सम्बन्धित विभिन्न योजनाहरू आगामी वर्षको बजेटमा समावेश गर्न सुझाव दिएका थिए।
दुहवी नगरपालिकाको प्रमुख व्यापारिक तथा बजार क्षेत्र समेटिएको वडा नं. ६ विकास निर्माणका गतिविधिका हिसाबले नगरकै सक्रिय वडामध्ये एक मानिन्छ। स्थानीयवासीहरूले वडाको समग्र विकासलाई थप व्यवस्थित र दिगो बनाउन आधारभूत पूर्वाधारसँगै सरसफाइ र वातावरण व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मठ मन्दिर निर्माण र पुनःनिर्माणबाहेक टोल टोलमा सँगै बसेर पठन संस्कृति प्रवद्र्धन गर्न पुस्तकालय वा वाचनालयको व्यवस्थालगायत युवालक्षित कार्यक्रमहरू, विभिन्न सीपमूलक तालिमहरूको लागि वडा वा नगरस्तरीय पहल हुनुपर्ने वडावासीहरूले सुझाउनुभयो ।
कार्यक्रम दुहबी नगरपालिका वार्ड न ६ का सचिब रोजिना बिष्टले संचालन गर्नुभएको थियो ।

