आवेगमा होइन छाती ठुलो बनाएर सात बुँदे अध्ययन गर्न पाँच भाइलाई शर्माको ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक मतभेद समाधानका लागि आफूले अघि सारेको सातबुँदे प्रस्तावमाथि गम्भीर छलफल गर्न आग्रह गरेका छन्।

शर्माले पार्टीभित्रको विवाद व्यवस्थापन तथा १५औँ महाधिवेशनको तयारीलाई सहमतिपूर्ण ढंगले अघि बढाउन गत जेठ १६ गते नै सातबुँदे प्रस्ताव सम्बन्धित नेताहरूलाई पठाइएको बताएका छन्। उनले उक्त प्रस्तावमाथि भावनात्मक प्रतिक्रिया नभई गम्भीर मन्थन गर्न आवश्यक रहेको धारणा राखेका छन्।

कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी र विशेष महाधिवेशनसँग सम्बन्धित विषयलाई लिएर मतभेद देखिँदै आएको छ। यसैबीच, वरिष्ठ नेता शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला निकट समूहले विभिन्न प्रदेशस्तरीय भेला गरिरहेको छ।

शर्माले भने आफूले पठाएको प्रस्ताव नआएको भन्ने प्रचार गरिनु यथार्थपरक नभएको संकेत गरेका छन्। उनका अनुसार प्रस्ताव जेठ १६ गते नै सम्बन्धित पक्षलाई पठाइएको थियो।

सार्वजनिक गरिएको सातबुँदे प्रस्तावमा विशेष महाधिवेशन र त्यससँग सम्बन्धित विवादलाई अन्त्य गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्ने, सक्रिय सदस्यता अद्यावधिकको काम समयमै सम्पन्न गर्ने, पार्टीका अग्रज नेताहरूलाई सम्मानजनक भूमिका दिने तथा १५औँ महाधिवेशनको तयारीमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने विषय समेटिएका छन्।

प्रस्तावमा निर्वाचन समिति, अनुशासन समिति तथा क्रियाशील सदस्यता व्यवस्थापन समितिमा सबै पक्षको सम्मानजनक सहभागिता रहने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्तै, महाधिवेशन व्यवस्थापन समिति गठन गर्ने तथा भ्रातृ एवं शुभेच्छुक संस्थाहरूमा जिम्मेवारी बाँडफाँट गर्दा योग्यता र इच्छाअनुसार अवसर प्रदान गर्नुपर्ने सुझाव पनि समावेश गरिएको छ।

शर्माले १६ दिनसम्म प्रस्ताव प्राप्त नभएको भन्दै विभिन्न टिप्पणीहरू सार्वजनिक भएपछि जेठ ३१ गते उक्त सातबुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका, संगठनात्मक व्यवस्थापन र नेतृत्वको भावी दिशाबारे बहस चलिरहेका बेला शर्माको यो प्रस्तावलाई आन्तरिक सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ।