
हेटौंडा : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन अन्त्य गर्नेदेखि प्रदेश निजामती सेवा नियमावली स्वीकृतिसम्मका पाँच महत्वपूर्ण निर्णय गरेको छ ।


बैठकपछि सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले मन्त्रिपरिषद्ले चालु अधिवेशन आगामी जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भएपनि लामो समयसम्म नियमावली बन्न नसकेको अवस्थामा सरकारले अब उक्त प्रक्रिया टुंगो लगाएको उनले बताए ।
यस्तै, स्वास्थ्य मन्त्रालयको प्रस्तावमा हाल काभ्रेपलाञ्चोकमा रहेको स्वास्थ्य तालिम केन्द्रलाई हेटौंडा स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्ले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा वातावरण संरक्षण ऐन संशोधन विधेयक प्रदेशसभामा पठाउनका लागि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेस गर्नुअघि मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता तामाङले जानकारी दिए ।
