
काठमाडौं : नेपाली कांग्रेसभित्र संस्थापन इतर धारको सक्रियता बढाउने उद्देश्यले कोशी प्रदेशमा आयोजित भेलामा पूर्वका प्रभावशाली नेताहरू नै अनुपस्थित देखिएपछि उक्त समूहभित्रै असहजता देखिएको छ ।


विराटनगरमा मंगलबार आयोजित भेलामा सीमित नेताको उपस्थितिमात्र देखिएपछि पार्टीभित्र यसको राजनीतिक सन्देशबारे व्यापक चर्चा सुरु भएको छ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट समूहले आयोजना गरेको भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भए पनि संस्थापन इतर धारका अन्य प्रभावशाली नेताहरू भने देखिएनन् । नेता प्रकाशशरण महत पनि भेलाबाट टाढै बसेपछि खड्का–सिटौला समूहमाथि दबाब बढेको कांग्रेस वृत्तमा चर्चा छ ।
विशेष महाधिवेशनको मुद्दालाई लिएर लामो समयदेखि पार्टी नेतृत्वविरुद्ध उभिँदै आएको यो समूहले फेरि प्रदेशस्तरीय भेला सुरु गरे पनि त्यसले अपेक्षित राजनीतिक सन्देश दिन नसकेको नेताहरूको टिप्पणी छ । पार्टीको आधिकारिक संरचनाभन्दा बाहिर गएर समानान्तर गतिविधि गर्दै आएको भन्दै संस्थापन पक्षले यसलाई गम्भीर रूपमा हेरिरहेको बताइएको छ ।
कांग्रेसभित्र पछिल्लो समय विशेष महाधिवेशनको विषयलाई लिएर चर्किएको विवाद निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेको थियो । तर, दुवै निकायबाट अनुकूल निर्णय नआएपछि इतर समूह थप रक्षात्मक अवस्थामा पुगेको विश्लेषण भइरहेको छ । त्यसकै बीचमा फेरि प्रदेश भेला आयोजना गरिनुलाई संस्थापन पक्षले ‘गुटगत शक्ति प्रदर्शन’को रूपमा व्याख्या गरेको छ ।
विराटनगरस्थित बिग होटलमा भएको भेलामा ९ जना शीर्ष नेतामात्र उपस्थित थिए । जसमा पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटैाला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, एनपी साउद, उमाकान्त चैाधरी, मीन विश्वकर्मा र विजयकुमार चौधरी रहेका छन् ।
यस्तै भेलामा नेता भीम पराजुली, कुन्दनराज काफ्ले, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई, मनोनीत केन्द्रीय सदस्य लक्ष्मी खतिवडा लगायत नेता सहभागी थिए । भेलामा करिब २५-३० जना नेता तथा कार्यकर्ता मात्र सहभागी भएको जनाइएको छ ।
कोशी प्रदेशमै प्रभाव राख्ने धेरै पुराना तथा प्रभावशाली नेताहरू अनुपस्थित रहेपछि भेलाले अपेक्षित उत्साह पैदा गर्न नसकेको टिप्पणी कांग्रेसभित्रै हुन थालेको छ । सिटौला निकट मानिएका कतिपय प्रदेशस्तरीय नेतासमेत पछिल्लो समय गगन थापा नेतृत्वतर्फ झुकेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ ।
संस्थापन पक्षले भने पार्टीको आधिकारिक कार्यक्रम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत सञ्चालन गरिरहेका बेला समानान्तर भेला गर्नु पार्टी अनुशासनविपरीत हुने संकेत दिएको छ । पार्टीविरुद्ध निरन्तर गुटगत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढ्न सक्ने चर्चा पनि कांग्रेसभित्र सुरु भएको छ ।
भेलामा सहभागी नेताहरूले भने पार्टीको वर्तमान राजनीतिक अवस्था, विशेष महाधिवेशनपछि विकसित परिस्थिति र आगामी रणनीतिबारे छलफल गरिएको बताएका छन् ।
