
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रमलाई अधिकांश सांसदहरुले बहिष्कार गरेका छन् ।


कांग्रेसबाट प्रतिनिधिसभामा ३८ र राष्ट्रिय सभामा २४ गरेर ६२ जना सांसद रहेकोमा ४७ जनाले सो कार्यक्रम बहिष्कार गरेका हुन् ।
खड्का समूहले धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सम्मान कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी थिए । तर सो कार्यक्रममा प्रत्यक्ष निर्वाचित सांसदहरु विष्णु खड्का र टेकबहादुर गुरुङ मात्र उपस्थित भए भने राष्ट्रिय सभाका ५ जना सांसद उपस्थित भए ।
१० जना प्रतिनिधिसभा सदस्य सहभागी भएको कार्यक्रममा ८ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका रिना उप्रेती केसी, गंगालक्ष्मी अवाल, सीता थपलिया (उर्मिला), रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल र गीता सेन्दाङ सहभागी भए ।
यस्तै राष्ट्रिय सभाका सदस्यहरू रन्जित कर्ण, गीता देवकोटा, खम्मबहादुर खाती, चन्द्र केसी र जगत तिमिल्सिना सहभागी भए ।
