
चैत १५ गते । सुनसरीको इनरुवामा उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा दुई दिने नापतौल शिविर सुरु भएको छ ।


इनरुवा उवासंंघको कार्यालयमा आज आईतबार देखि सुरु भएको दुई दिने नापतौल शिविर सञ्चालन भएको संघका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।
व्यवसायीहरुको माग र सेवाग्राहीहरुको हितलाई ध्यानमा राखेर गुणस्तर तथा नापतौल कार्यालय मोरगंले इनरुवा उद्योग वाणिज्य संघसंगको समन्वयमा विभिन्न व्यापारिक क्षेत्रहरुमा पुगेर नापतौल शिविर सञ्चालन गर्दै आएकोमा इनरुवामा पनि शिविर गरेको हो ।
इनरुवा उद्योग वाणिज्य सङ्घको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, लिटर, मिटरलगायतका नापतौलसम्बन्धी औजारहरुको चेकजाँच तथा नवीकरण गरिएको हो । शिविरमा व्यवसायीहरुलाई नापतौलको जाँच गराउन विराटनगर पुग्नुपर्ने बाध्यता हटेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख सम्भु कुमार झाले बताउनुभयो ।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको नापतौलका सामग्री प्रयोगमा गरी दण्ड तथा जरिवानाबाट बच्न शिविरले उद्योगी व्यवसायीहरुलाई सुविधा पुगेको सङ्घका उपाध्यक्ष गिरिराज अटलले बताउनुभयो । इनरुवामा दुई हजार व्यवसायीहरु रहेका छन् ।
